प्रदेश २ का प्रस्तावित तीनवटै नाम अस्वीकृत

प्रदेश २को नामका लागि प्रस्तावित तीनवटै प्रस्ताव अस्वीकृत भएका छन्।

मंगलबार प्रदेशसभामा भएको मतदानले तीनै प्रस्ताव अस्वीकृत गरेको हो।  नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि  ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको छ। 

यसअघि प्रदेशसभामा कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको थियो। कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको थियो। कांग्रेसबाट प्रदेश २ मा १९ सांसद छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ। नेकपाका ३२ सांसद प्रदेशसभामा छन्। जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको हो।

अहिले प्रदेशसभामा सत्तारूढ समाजवादी-राजपाले प्रस्ताव गरेको मधेश प्रदेश नाममाथि मतदान भइरहेको छ। प्रदेशसभामा एक सय सात जना सांसद छन्। प्रदेशसभामा समाजवादीको ३०, राजपाको २५ सांसद छन्।

प्रकाशित मिति: : 2020-03-18 07:35:42

प्रतिकृया दिनुहोस्