हिमालसँगै हाँसेका नामरुङ्गवासी (भिडियाेसहित)

अधिकांश मानिस हिमाली बस्तीको नाम सुन्ने बितिकै चिसो मौसममा बाक्लो लुगा, मोटो उलन टोपी र चिसोले फुटेर गाला रातो भएका मानिसको धुम्म भएको मुहार सम्झिन्छन्। बाह्रैमास जाडो हुने यस्ता ठाउँको बसाईं बाहिरबाट आइपुग्ने आगन्तुकको लागि नयाँ संसारमा आइपुगेको लाग्नु स्वभाविक नै हो। 

हिमालमा जाडोकै कारण मुख धुन पनि मुस्किल जस्तै हो, एक त हिउँपानीले हातमुख धुन सकिदैन। त्यस माथि चिसो बाट जोगिन दाउरा बालेर घरभित्रै बस्दा धुँवाले अनुहारै कालो हुनुलाई सामान्य नै मान्नुपर्छ। यहाँका गाउँमा जाडोले कठिन जीवन बाच्न बाध्य मानिसको बाह्य मुहार नभएर उनले गर्ने व्यवहार बुझ्नु जरुरी छ ।

उनीहरुको आत्मियता बुझिनसक्नु छ। सोझो, इमानदारी र स्वाभिमानी गाउँलेहरु दु:खमा पनि हाँसेरै रमाउन सिकेका छन्।मनभित्र कुण्ठा त अवश्य पनि छ तर सौहार्दता भने अचम्मको। हिमालको बसाईं जति कठिन छ, उतिनै सहज पनि छ– कारण यहाँका मानिस सरल छन्। 

हुन् त मनास्लुसँग कति पिडा छन्? उसले कहिल्यै देखाउन खोज्दैन। तर मनास्लुले जहिले पनि हाँस्न र हँसाउन मात्रै सिकाएको छ। उसका पिडाहरु भनिसाध्य छैन। कहिले चिसो हिउँ त पानीले, अनि कहिले चिसो बतासले। उसो त घाम पानी नलेखेको समयमा समेत बादलुले उसको सुन्दरतालाई ढाकिदिँदा भने खिन्न भएर बसेको भान हुन्छ। यिनै कारण अधिकांश समय उ आफै परिवर्तनशील पनि देखिन्छ।

हिउँ परेपछि देखिने गाउँको दृश्यहरु मनै हर्ने खालका छन्। हिमालमा गाउँले जीवन जिउन त्यति सजिलो छैन, तेही पनि सजिलो बनाउने एउटा माध्यम भएको छ, मनैदेखि हाँस्ने स्थानीयको निर्दोष हाँसो। नामरुङ्ग गाउँमा चौरीलाई घाँस बोक्दै गरेका ६५ वर्षे एक वृद्धा हाँस्दै भन्छन्, ‘हामी यहि गाउँमै जन्मियौं, यहि हुर्कियौं खुशी नभएर के गर्नु। हाँसेरै बाँकी जीवन बाँच्ने हो। काम गर्दा होस् कि साथीसँगीसँग बस्दा होस् अथवा घरपरिवारमा पनि हाँसी–खुशी बसेका हुन्छन्। 

अझ हिउँ परेपछिको खुलेको सफा मौसमले पनि मनमा शान्ति पैदा हुने गर्छ। यहाँका पाखामा देखिने सुन्दर दृश्यले हिमालमा पाइने अर्ग्यानिक खाद्य पदार्थ र शुद्ध हावापानीले स्थानीय स्वस्थ हुनुका साथै तन्दुरुस्त देखिन्छन्। यहाँ जिविका चलाउन त्यति सजिलो छैन। त्यसैले जीवन बाँच्न केहि न केहि गरेकै हुन्छन्। घरबाट बाहिर निस्किने बितिकै देखिने सुन्दर दृश्यले फ्रुरुङ हुने स्थानीयलाई यहाका मनोरम दृश्यको बारेमा बुझ्न खोज्दा मुसुक्क हाँस्दै भन्छन्, ‘कहिले काही मात्रै आउने पर्यटकका लागि मात्रै राम्रो। हामी त् जन्मिएदेखि नै यहीँ छौ। यी सबै चिज पुरानै लाग्छन्।’

यहाँका स्थानीयवासी गाउँमा आउने नयाँ जो कसैसँग हासेरै अभिबादन गर्छन। त्यसैले त यहा घुम्न आउने पर्यटकहरु सहजै गाउँलेसँग नजिकिनुका साथै सहजै आतिथ्य स्विकार्छन्। यस भेगको पर्यटन प्रवर्द्धन तुलनात्मक हिसाबले बृद्धि भएको यहाँ देखिने सुन्दर दृश्यका साथै स्थानीयको मुस्कानमा पनि हो।
 

प्रकाशित मिति: : 2020-03-20 20:09:00

प्रतिकृया दिनुहोस्