कोरोनाको त्रास! मलेसिया ‘लकडाउन’ को पहिलो दिन

हरि थापा

क्वालालाम्पुर

चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको महामारी कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमण हुने संख्या यो आलेख तयार पार्दासम्म दुई लाख २० हजार पुगिसकेको छ।

यस्तै विश्वभरमा मृत्यु हुनेको संख्या ९ हजार पुग्न लागेको छ। यस्तै करिब ८६ हजार सक्रमित व्यक्तिहरू सामान्य अवस्थामा आईसकेका छन्।

सुरूवातमा चीनको वुहान मात्र देखिएको यो रोग यसले विश्वको ११४ देशमा फैलिसकेको छ।

विश्व स्वास्थ्य संगठनले पनि यसलाई संसारभर महामारीको रूपमा घोषणा गर्दै सचेत रहन आग्रह गरेको छ।

यसैबिच विकसित र शक्तिशाली देशहरूमा यसको प्रभाव अझ जटिल बनिरहेको छ।

अमेरिका, बेलायत, इटाली जस्ता मुलुकमा पछिल्लो समय संक्रमित र मृत्यु हुनेको संख्या नाटकीय रूपमा बढिरहेको छ।

विश्व स्वास्थ्य संगठनले चीनको छिमेको मुलुक नेपाललाई अतिनै जोखिमपूर्ण राष्ट्रको रूपमा राखे पनि हालसम्म कोभिड १९ को सूचिमा नेपाल ग्रिन जोनमा छ। यो हाम्रो लागि खुसीको विषय हो। तर, हामी खुसी हुँदा हुँदै विश्व निरासमा परेको छ।

दिन दुगुणा रात चौगुणा एउटा प्रान्तबाट फैलिएको कोरोना विश्वका ११४ राष्ट्रमा पुगिसकेको छ। योसँगै नेपालले पनि उच्च सतर्कता अपनाउन थालेको छ।

सुरूमा एक जनामा देखिएको कोरोना संक्रमण इटालीमा नाटकीय रूपमा बढ्यो।

हालसम्म पैतिस हजार भन्दा बढिमा कोरोना सङक्रमित भएको इटालीमा करिब ३ हजार जनाले ज्यान गुमाइसकेका छन्।

यसैबीच मलेसिया सरकारले मार्च १८ तारिक देखि मार्च ३१ तारिकसम्मको लागि लकडाउनको घोषणा गर्‍यो।

मलेसियामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ९००, मृत्यू  हुनेको सङ्ख्या २ पुगेको छ भने कोरोना सङक्रमित भएर उपचार पनि सामान्य अवस्थामा फर्किनेको संख्या ७५ मात्र छ। मलेसियामा आज मात्रै ११० जना नयाँ संक्रमित फेला परेका छन्।

आज मलेसिया लकडाउनको दोस्रो दिन हो। मलेसिया सरकारको आदेशमा यहाँको उत्पानमुलक कम्पनी, विद्यालय, सरकारी कार्यालय सबै बन्द छन्। दुःखद् समयमा नागरिकको जन-स्वास्थ्यलाई मध्यनजर राख्दै सङ्क्रमितबाट बचाउन गरेको सकरात्मक प्रयास हो।

सरकारको आदेशलाई उलङ्घन गरेमा दुई वर्ष जेल र दश हजार रिङ्गेटसम्म जरिवाना हुनसक्ने भनिएको छ।

मलेसिया सरकारले कोरोना फैलिन नदिन अनिवार्य माक्स प्रयोग गर्नुपर्ने, भीडभाडमा हिँड्न नहुने, कुनै खेल खेल्न तथा हेर्न र जम्काभेट गरि बस्न नपाईने भनिएको छ।

विभिन्न देशबाट रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत कामदारलाई छुट्टि दिएर आफू बस्ने होस्टेलबाट बाहिर जान नपाईने र यदि विशेष कारणबस बाहिर जान परेमा विहान ९ बजेदेखि बेलुका ६ बजे सम्म मात्र निस्किन पाउने बताएको छ।

होस्टेलको सेक्युरीटीलाई कडा निर्देशन जारी गरिएको छ एक जना गेट पास लिएर मात्र रासन पानी किन्न जान पाईने त्यो पनि छोटो समयको लागि मात्र।

तीन घण्टा भन्दा बढि समय एक ब्यक्तिलाई नदिने सूचना जारी गरेको छ।

पहिलो दिनको अवस्था पनि पसलमा भीडभाड थियो। रासन पानी जोहो गर्न पसल पुगेकाहरु निरास थिए। पहिलो दिन तीन चार घण्टा लाईन बसेर आफूलाई चाहिने खाधान्न लिए तर, तरकारी सर्टेज भईसकेको थियो।

सरकारले गरेको लकडाउनको घोषणा सुन्ने वितिकै बजार असाध्यै भीडभाड थियो। अधिकांश दैनिक उपभोग्य सामाग्री अभाव भइसकेको थियो।

सामानहरु खाली थियो। त्यसपछाडि सामान आयो आएन नआएक‍ो भए मानिसहरु पक्कै निरास भएर फर्किए। सरकारले खाधान्न सामाग्री सर्टेज नहोस् भनि केही पसलहरु भने खुला रहने जानकारी गराएको छ।

दुई-तीन सय जना नेपाली रहेको चीनको वुहानमा प्रान्तमा ‘लकडाउन’ भयो भन्दा अचम्ममा पर्ने हामी नेपाली आज झण्डै आठ दश लाख नेपाली रहेको मलेसियामा लकडाउन खेपिरहेका छौं।

कामदार मात्र होइन यहाँको कम्पनी सिङ्गो सरकार त्रसित भएको छ। त्यसकारण कोरोना नियन्त्रण गर्न लकडाउन गरेको हो।

मलिसियामा दोस्रो दिनको अवस्था निरासजनक छ। साथीहरु होस्टेलबाट बाहिर निस्केका छैनन्। केही मार्केट जानेको कुरा सुन्दा पहिले जस्तो सामान बजारमा छैन। जवरजस्त महङ्गी भने थ‍ोपरीएको छैन। जुन पहिलाको मूल्य हो त्यही मूल्यमा सामान पाईरहेको छ।

भोलिको अवस्था के हुन्छ थाहा छैन। तर आजको दिनसम्म सामान्य छ खाद्यान्नको त्यति धेरै सर्टेज देखिएको छैन। दिनहुँ भीडभाड हुने पार्क नजिकैको कम्पनीहरू सधै अस्तव्यस्त हुने सडक सपिङ सेन्टर सुपरमार्केट सुनसान छ।

फाट्टफुट्ट प्रहरीको भ्यान कुँदिरहेको देखिन्छ। होस्टेलमा समेत भीडभाड नगर्न अनुरोध गरिरहेको छ। न बाहिर निस्किन पाईयोस् गुमनाम बेडमा थन्किनु परेको छ। सुतेर भन्दा बढी दुई साता सम्झेर ज्यान कटकटी दुखिरहेको छ। यो समय अहिलेको लागि १४ दिन बन्द गरिएको हो। यदि कोरोना नियन्त्रणमा कमि देखिएन भने अझ बढ्नसक्ने निश्चित छ।

यहाँको सरकार कोरोना नियन्त्रण गर्न डटेर लागिपरेको छ। ईटालीको घटना दोहोरिने डरले सरकारले लक डाउन गरेको हो।

अब जो जुनसकै देशमा रहे पनि सुरक्षित रहने कोशिस गर्नुपर्छ। सुरूवातमा वुहानबाट नेपाली फर्काउन सफल भए पनि अब यो असम्भव छ। जहाँ रहे पनि देश विदेश सक्दो सुरक्षित हुने प्रयास गरौं।

प्रकाशित मिति: : 2020-03-20 09:47:03

प्रतिकृया दिनुहोस्