नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिन स्वदेश फर्कने भएका छन्। नेपालको फुटबल गतिविधि ठप्प भएपछि प्रशिक्षक कालिन स्विडेन फर्कन लागेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक कालिन शनिबार स्वदेश फर्कने जनाएको छ।
‘विश्वभर फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९को कारण खेलकुद गतिविधि रोकिएपछि प्रशिक्षक पनि स्वदेश फर्कदै हुनुहुन्छ,’ एन्फा महासचिब इन्द्रमान तुलाधरले भने।
कालिन अपरान्ह ४ बजे स्विडेन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग सक्किए लगत्तै कालिनले फिफा विश्वकप छनोट अन्तर्गत चाईनिज चाईपे र अष्टेलियासँग खेलको लागि टिमको तयारी सुरु गरेका थिए। तर, कोरोनाको कारण एन्फाले सुरुवाती प्रशिक्षणनै स्थगित गरेको थियो।
कालिनको नेतृत्वमा फिफा विश्वकप छनोटको ५ खेल खेलेको नेपालले १ खेलमा जित हात पार्दा ४ खेलमा हार ब्यहोरेको छ।
कालिन ७५ साल चैतमा राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीसहित नेपाल आएका थिए।