कोरोनासम्बन्धी फेक अडियोः पोस्ट भएको १६ घण्टामै पक्राउ परे पत्रकार विवेक

दीप सुवेदी

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबारे अनर्गल प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।  

नेपाल प्रहरीको साइबर व्यूराेले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापामगरलाई पक्राउ गरेको हो। उनलाई व्यूराेले शनिबार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो। 

उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै न्युज पोर्टल झोर्लेन्युज डटकममा अडियो सन्देश पोष्ट गरेका थिए। 

यसरी पक्राउ परे

शुक्रबार राति १० बजे विवेकले सामाजिक सञ्‍जाल फेसबुकमा एउटा समाचारको लिंक सेयर गर्दै स्टाटस पोस्ट गरे। उनले लेखे, ‘नेपालमा कोरोनाको महामारी फैलिसके पनि सरकारले, किन लुकाए यस्तो खबर। तल दिएको अडियो सुन्नुहोला.....अनिवार्य। एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ।

आफैंले सञ्‍चालन गरेको झोर्लेन्युज डट कम नामक एक वेबसाइटमा राखिएको अडियो क्लिपसहितको समाचारको लिंक सेयर गरेर सुतेका विवेकले शनिबार मध्याह्‍नसम्म उनको फेसबुक स्टाटस ६ जनाले मात्रै सेयर गरेको देखिन्छ। तर सोही समाचारमा राखिएको उक्त अडियो क्लिप भने हजारौंले सामाजिक सञ्‍जालमार्फत सेयर गरेको देखिन्छ। 

उनको म्यासेज ग्रुप म्यासेन्जर, भाइबर ग्रुप र हृवाट्सएप ग्रुपबाट पनि यो क्लिप सयौंमाझ सेयर भएको देखिन्छ। शनिबार बिहानसम्म उक्त अडियो क्लिपले फैलाएको त्रास मध्याह्नसम्म आइपुग्दा भ्रामक रहेको भन्ने खबर पनि बाहिर आइसकेको थियो।

अडियो भाइरल भइरहेको र त्यसले धेरैलाई त्रसित बनाएको भन्ने सूचना प्रहरी प्रधान कार्यालयमा सामाजिक सञ्‍जालबाट पुगिसकेको थियो। प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको थियो। व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको सञ्चार माध्यमलाई पुष्टि गरिसकेका थिए। 

एसएसपी अर्यालले सञ्चार माध्यमलाई जानकारी दिनसाथ विवेकले पुन: आफ्नाे फेसबुकवालमा ‘Igoner fake news and content’ अर्थात नक्कली समाचार र याे सामग्रीलाई बिर्सनुहाेस् लेखेका थिए। 

यतिबेलासम्म  प्रहरीले अडियो कहाँबाट बाहिरियो र कसले त्यस्तो काम गरिरहेको थियाे। पत्ता लगाउन साइबर व्यूराेलाई आदेश दिएलगत्तै बिहानैबाट व्यूराेको अनुसन्धान टोली खटिएको थियो।

दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयले आफ्नो अफिसियल फेसबुकमा उक्त समाचार भ्रमपूर्ण रहेको सूचना लेखिसकेको थियो भने त्यसअघि नै नर्भिक अस्पतालले भ्रमपूर्ण सूचना फैलिएको भन्दै खेद व्यक्त गरेर विज्ञप्ति निकालिसकेको थियो।

अनुसन्धान गर्दै जाँदा प्रहरीले विवेकले सेयर गरेको न्यूज भेटियो। भक्तपुरबाट दिउँसो ३ बजेतिर प्रहरीले सिपाडोल बस्ने विवेकलाई पक्राउ गर्‍यो। अनुसन्धानमा संग्लन एक प्रहरीले उक्त अडियो क्लिप कुन–कुन सामाजिक सञ्‍जालमा कसरी विस्तार भयो भन्नेबारे अनुसन्धान सुरु गरिसकिएको बताए।

‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको बयान

विवेकले आफ्नो फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको बयान दिएका छन्। उनले सामाजिक संजालको दुरूपयोग गर्दै अडिओ मेसेजमार्फत् राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोनाभाइरस देखिएको बताएका थिए। 

साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले यसबारे अहिले अनुसन्धान भइरहेको बताए। ‘प्राविधिक पाटोबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने।

प्रहरीले भने सामाजिक सञ्जालमा यस्ता किसिमका गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ। 

यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2020-03-22 10:13:21

प्रतिकृया दिनुहोस्