लक डाउन काठमाडौं भिडियो र फोटो

कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले अख्तियार गरेको लक डाउनको नीति सफल भएको छ।

मानिसलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन्। काठमाण्डौ , ललितपुर र भक्तपुरमा मंगलबार बिहान १० बजेसम्म अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएन। 

उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कर्फ्यूको जस्तै देखिएको थियो । लकडाउन भनेको औषधि उपचार,  खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो।

माईकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न , घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेको देखिन्थ्यो। सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ। फाट्टफुट् सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो। 

आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो।

सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको थियो। मंगलबार बिहान ६ बजे देखि १८ गते सम्म अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ ।

प्रकाशित मिति: : 2020-03-24 23:03:45

प्रतिकृया दिनुहोस्