हवाई र सीमानाका खोल्न अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणलाई ध्यान दिँदै बन्द गरिएका सीमा नाका र हवाइ मार्ग खोल्न अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ।

अधिवक्ता माधवकुमार बस्नेत र मिरा खड्काले सीमा र हवाइ मार्ग बन्द गर्ने सरकारको निर्णय बदर गर्न काम गर्दै सोमबार दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतको एकल इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अन्तरिम आदेशबारे थप छलफल गर्न विपक्षीहरु उपस्थित गराउन आदेश दिएको हो।

सरकारले चैत १० गते कोभिड-१९ को संक्रमणलाई रोक्न सीमा नाका र हवाइ मार्गबाट बन्द गर्दै नेपालीसमेतलाई प्रवेश गर्न नदिने निर्णय गरेको थियो। तर निर्णयपछि बुधबार सरकारले अन्तिम पटकलाई भन्दै सीमामा रोकिएका नागरिकलाई नेपाल प्रवेश गर्न दिएको थियो।

प्रकाशित मिति: : 2020-03-26 03:20:36

प्रतिकृया दिनुहोस्