काेराेना आशंकापछि जुम्लाका एकजना क्वारेन्टाइनमा

भारतबाट फर्किएका एकजनालाई उच्च ज्वारो आएपछि कर्णाली प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाइनमा राखिएको छ। 

जुम्ला सिंजाका ३२ वर्षीय उनलाई शिक्षण अस्पताल जुम्लामा चेकजाँचको क्रममा ज्वारो धेरै आएको र खोकी लागिहेकाले क्वारेन्टाइनमा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालका निर्देशक डा.मंगल रावलले बताए।

 ‘बिरामीको लक्ष्यण कोरोनासँग मिल्दोजुल्दो देखेपछि क्वारेन्टाइनमा पठाइएको हो,’ उनले भने, ‘बिरामीलाई दुई हप्ता निगरानी गरिने छ।’

जुम्लालाई चैत ९ गतेदेखि नै ‘लकडाउन’ गरिएपनि जिल्ला बाहिरबाट जुम्ला भित्रिनेको संख्या घटेको छैन। ‘लकडाउन’को बेवास्ता गरी कामको सिलसिलामा जिल्ला बाहिर र रोजगारीको लागि भारत गएकाहरु दिन प्रतिदिन जिल्लामा आइरहेका छन्।

जुम्ला कालिकोटको सीमा क्षेत्र नाग्ममा रहेको हेल्थडेक्समा स्वास्थ्य अवस्था जाँच गरेर जिल्लामा आउने गरेका छन्। मंगलबारमात्रै १ हजार सय ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको नाग्म हेल्थडेक्समा रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी नन्दराज उपाध्यायले बताए। ‘जुम्ला भित्रने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरिरहेका छौं,’ उनले भने, ‘धेरैजसो भारतबाट आउने व्यक्तिहरु रहेका छन्। स्वास्थ्य परीक्षण गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।’

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामीहरु भेटिएमा कर्णाली प्राविधिक शिक्षालयमा एक सय बेडको क्वारेन्टाइन तयार गरिएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एक सय २० शय्याको आइसोलेसन वार्ड तयार गरिएको छ।

प्रकाशित मिति: : 2020-03-26 05:24:08

प्रतिकृया दिनुहोस्