उर्जामन्त्री भन्छन्– विद्युत महशुल पूरै छुट हुनसक्छ

‘छुट घरबेटी र डेरावाल दुबैलाई, इन्डक्सन चुल्हो घरघरमै’

अनलाइनखबर

काठमाडाै‌ं

मात्रिका पौडेल

सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउनेछन् ।

अनलाइनखबरसँगको भिडियो अन्तर्वाताका क्रममा उर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरणको बोर्ड बैठक बसेर सबै ग्राहकलाई २० प्रतिशत महशुल छुट दिने निर्णय हुने बताए । यसो गर्दा करीव एक अर्ब रुपैयाँ राज्यको तर्फबाट जनताले छुट पाउने मन्त्री पुनले जानकारी दिए ।

उर्जामन्त्री पुनले यो महिनाको विद्युत महशुल बुझाउन ढिला भए पनि जरिवाना नलाग्ने प्रष्ट पारे । मन्त्री पुनले विद्युत महशुल छुटमा घरबेटी र डेरावाल सबै बराबरी हकदार हुने भन्दै कुनै घरधनीले डेरामा बस्नेसँग पहिलेकै दरमा महशुल उठाएमा सरकारले कारवाही गर्ने बताए ।

लकडाउनको अवधि तीनसाता जाने सम्भावना देखिएकाले कम्तिमा एक महिनाको महशुल मिनाहा गर्न जनस्तरबाट दबाव आइरहेका बेला मन्त्री पुनले त्यसबारे अहिले नै निर्णय नभएको बताए ।

यद्यपि परिस्थिति हेरेर जनतालाई अधिकतम राहत दिन सरकारले लकडाउन अवधिभरको विद्युत महशुल मिनाह गर्न सक्ने बताए ।

मन्त्री पुनले अहिले जनताले जति बिजुली उपयोग गरे पनि सरकारले दिन सक्ने भन्दै ग्यास चुल्होको प्रयोग घटाउन इन्डक्सन चुल्होमा छुट दिइएको बताए । उनले इन्डक्सन चुल्हो घर–घरमै अनलाइन प्रणालीबाट उपलब्ध गराउने समेत बताए ।

प्रकाशित मिति: : 2020-03-28 00:57:26

प्रतिकृया दिनुहोस्