अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण

अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। आफ्नो साथीलाई पोजिटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो। 

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा गरेर बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो। तर जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेका उनको नतिजा पोजिटिभ देखिएको नेपाली दूतावासले जनाएको छ।

संक्रमित सबै युवती रहेको क्यानबेरास्थित दूतावासले जनाएको छ। उनीहरु अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन। 

उनीहरुको स्वास्थ्य सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाको भनाइ छ।

‘उनीहरुको स्वास्थ्य सुधार भइरहेको छ,’उनले भनिन्,‘ अस्पतालबाट नियमित मनिटर भइरहेको छ।‘ 

त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही भाइरसको संक्रमण देखिएको र उनको स्वास्थ्यसमेत सामान्य रहेको दूतावासले जनाएको छ। यी दुई संक्रमणका घटना एकआपसमा सम्बन्धित नभएको समेतदूतावासले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन अस्ट्रेलियामा रहेका विद्यार्थीलाई आग्रह गरेको छ।

यसअघि अस्ट्रेलियाकै तास्मानियामा यसअघि एक विद्यार्थीमा कोरोना संक्रमण पाइएको भए पनि उनी स्वस्थ भएर घर फर्किसकेका छन्।

अस्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमित पाइएका छन जसमा १ हजार ४ सय बढी न्यू साउथ वेल्स राज्यका छन्। यस भाइरसबाट अहिलेसम्म यहाँ १४ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: : 2020-03-28 23:38:43

प्रतिकृया दिनुहोस्