प्रचण्डकाे विश्वास: नेपाल कोरोनाको महामारीबाट छिटै मुक्त हुनेछ

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरसको महामारीबाट छिटै नै मुक्त भइने विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले शनिबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्नका लागि सरकारले जारी गरेको निर्देशन पालना गर्नुको विकल्प नभएको पनि बताए।

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले अहिले लकडाउनको घोषणा गरेको प्रचण्डको भनाइ थियो। ‘संक्रमणको जोखिम कम गर्न सरकारले  लकडाउनको घोषणा गरेको हो,’उनले भने,‘यो बेला पूर्ण अनुशासनमा बस्न र घरबाहिर ननिस्किनुहोस्।’

प्रचण्डले नेपालमा ४ जनामा कोरोना देखिएको तथा १ जना उपचारपछि निको भइसकेकाले आत्ति हाल्नुपर्ने अवस्था नभएको पनि बताए। तर, चीन, इटाली, अमेरिका लगायत विकसित देशमा देखिएको स्थितिबाट पाठ सिकेर विशेष सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ।

प्रचण्डले कोरोनाविरुद्धको लडाइँमा जोखिम उठाएर क्रियाशील रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च राख्नका लागि आवश्यक उत्प्रेरणा, सुरक्षा र सातै प्रदेशमा उपकरणहरुको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

‘कोरोना भाइरविरुद्धको लडाइँमा सबैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र आम सञ्चारकर्मीको म उच्च प्रसंशा गर्दछु,’ अध्यक्ष प्रचण्डले भने, ‘आम सञ्चारमाध्यमहरुले यथोचित संयमता, आधिकारिक सूचना तथा शिक्षा जनतामा पु¥याउने काममा सबभन्दा बढी ध्यान दिनुहुने छ भन्ने मेरो विश्वास छ।’

संकटको यो अवस्थामा सहयोगको ‘मुठी फुकाउन’ निजी क्षेत्रका अगुवा र व्यवसायीहरुसँग अध्यक्ष प्रचण्डले अनुरोध गरे। उनले आफ्नो पार्टी नेकपाका नेता तथा कार्यकर्तालाई कोरोनाविरुद्धको लडाइँमा स्वयम्सेवीका रुपमा सावधानी पूर्वक नेतृत्व गर्न पनि आग्रह गरेका छन्।
 

प्रकाशित मिति: : 2020-03-29 02:57:53

प्रतिकृया दिनुहोस्