युरोपमा बस्ने नेपालीले कोरोना लागेको लुकाउँदा आफ्नालाई तनाव

लक्ष्मण देवकोटा

ज्युरिच ब्यूराे

८ मार्च अन्तर्राष्ट्रिय नारी दिवसको दिन लण्डनमा महिलाहरु जुटेर कार्यक्रम गरे। रमाइलो भयो । दु:खसुख साटे । लगत्तै रुघाखोकी र ज्वरोले 
सताएपछि भगवती रानाभाट अस्पताल पुगिन् । उनलाई कोरोना लागेको पुष्टि भयो । उनले सार्वजनिक गरेर आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन 
भनिन् ।

समाजसेवामा सकृय उनकाे श्रीमान् डा मीन रानाभाट पनि एकान्तवासमा लागे, केटाकेटीसँगै । अस्पताल बसाइँबाट निको भएर फर्केपछि फेरि भगवतीले आफ्नो 
स्वास्थ्यको बारेमा चासो चिन्ता राखेर शुभकामना दिइन् र कोरोना लाग्दैमा मरिन्न बरु अरुलाई संक्रमित हुनबाट जोगाउन खबर गर्नुपर्ने बताइन् । 

भगवती रानाभाट जुन अस्पतालमा उपचार गराइन्, त्यो अस्पतालमा नेपाली नर्सहरु कार्यरत छन् । सरसफाइकर्मी र अन्य अस्पतालको व्यवस्थापकीय क्षेत्रमा समेत 
नेपालीहरुको बाक्लाे उपस्थित छ। भगवती जानुभन्दा अगाडि नै कोरोना भाइरसबाट संक्रमित एकजना नर्स र एकजना सरसफाइकर्मी नेपाली सोही अस्पतालमा 
उपचार गराएर फर्किसकेका थिए । संक्रमितले गोप्य राख्न भनेकै हुनाले व्यक्तिको गोपनियताको कदर गर्दै बिएल नेपाली सेवाले समाचार छापेन। 

भगवती रानाभाटको भिडियो शेयर गर्दै बसेका स्विट्जरल्याण्डको ज्युरिच बस्ने एकजना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण देखियो । अमेरिकाबाट निस्कने 
अनलाइनमा जेनेभामा १० कोरोना संक्रमित भनेर समाचार छापेपछि स्विट्जरल्याण्डमा हल्लाखल्ला भयो । सम्भव भएसम्म सबैले सबैलाई फोन गरे । जेनेभास्थिति 
नेपाली दूतावासले पनि सबैतिर सोधखोज गर्यो । नेपालबाट आफन्तले तारन्तार फोन गरेर सबैतिर हल्ला मच्चाएपछि एकान्तवासमा बसेका ती नेपाली मित्र मार्फत् दूतावास र संचारकर्मीलाई आफू जेनेभामा रहेको र स्थितिमा सुधार भएको खबर पुर्‍याए । 

इटालीपछि सबैभन्दा बढि कोरोनाले आक्रान्त पारेको देश हाे, स्पेन । यो समाचार तयार पार्दासम्म ६ हजार मृतक पुगिसकेका छन् । त्यस्तो महामारीको बीच 
नेपाली त्रसिद छन् । जागिर जाला भन्ने पिरले नेपाली डराइँडराइँ काममा गएका छन् । बार्सिलोनामा बस्ने विष्णु रिजाल, जो समाजसेवामा पनि रुचि राख्दछन्, सबैको 
नजरमा असल मानिसको परिचय बनाएका छन्। उनलाई कोरोना भाइरसले समात्यो । केही दिन गुपचुप राखेपछि नेपाली जनसम्पर्क समितिले उनको नाम सार्वजनिक गर्यो ।

पढ्नेहरु सबैले विष्णु रिजालको सुस्वास्थ्यको कामना गरे । परिवारको पनि भलो होस् भन्ने चिताए । अहिले  नेपालमा पाँचौँ संक्रमित भनेर बेल्जियमबाट गएकी विद्यार्थी नानीको निकै चर्चा छ । बेल्जियममा भएकी आमालाई पनि लाग्यो कि, आमामार्फत् अरुलाई पनि सर्याे? गाउँमा गएर उतै भएका बाबु र छरछिमेकमा सर्यो कि, जहाजमा कोको थिए भन्ने हल्ला मच्चिएको छ । नारायण कँडेलले पटक पटक जँचाउन जाउँभन्दा पनि नमानेकी ती विद्यार्थी इटालीबाट फर्केर बेल्जियम हुँदै नेपाल गएको जान्नेहरु बेल्जियमै छन् । नेपालमा कोरोना संक्रमित सार्वजनिक हुँदा बेल्जियम बस्नेको  सातोपुत्लो गएको छ । 

व्यक्तिगत सम्पर्क र विभिन्न सामाजिक संघसंस्थामा कार्यरत व्यक्तिको निगरानीको आधारमा युरोपमा बसेका नेपालीमा कोरोना भाइरसले संक्रमित भएपनि 
लोकलाजले नभन्ने चलन बढ्दै गएको छ । 

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई भन्छन्, ‘कोरोना लाग्ने बित्तिकै ज्यान गइहाल्ने होइन । निको भएर सामान्य जीवनमा फर्कन सकिन्छ । 
यदि केही गरी आफूलाई यो भाइरसको संक्रमण देखियो भने सार्वजानिक गर्दा अरु पनि सुरक्षित हुने अवसर हुन्छ । म नलुकाउन अनुरोध गर्दछु ।’

हामी सबैले कोरोनाको विषयमा बुझेका छौँ । सबैले सँक्रमित व्यक्तिको स्वास्थ्य लाभको कामना गरिरहेको हुन्छ । अरुलाई जानकारी दिँदा झन् यसको संक्रमण फैलिने खतरा कम हुन्छ । लण्डनको अस्पतालमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत कुमार केसी यसरी लुकाउने चलन नराम्रो भएको बताउँछन् । आफू कार्यरत अस्पतालमा शँकास्पद नेपाली धेरै नै आएको र सबैजसोले भन्न नचाहेको उनको अनुभव छ । प्रविधिको विकास भएको लण्डनमा बसेर यस्तो लुकाउने काम गर्दा संक्रमण झन् बढ्दै जाने र जोखिम बढी हुने उनको भनाई छ ।

उनी भन्छन्, ‘लण्डनमा संक्रमित नेपाली धेरै छन् । बोल्नै डराएका छन् । डराउनुपर्ने कुरै होइन ।’ डेनमार्कमा बसिरहेकी पत्रकार सरस्वती कार्की भन्छिन्, ‘तैँ चुप। मै चुपको स्थिति छ युरोपमा ।’ पोर्चुगलको फारोमा बसिरहेका भूपति गैरेको अनुभव भने फरक छ । उनको विचारमा कोरोना संक्रमित हो भन्यो भने टोलमै बस्न नसकिने स्थिति छ । उनी भन्छन्, ‘एक्लै कोठा लिएर बस्न खर्चले धान्दैन । कोरोना छ भन्यो भने कसैले राख्दैन । यस्तो बेलामा गोपनियता राख्नुपर्ने वाध्यता पनि छ । ठूला कुरा गरेर के गर्ने? जागिरै धरापमा छ धेरैको । अनि मान्छेले सोँच्दा सोँच्दै चुपचाप बस्ने निर्णय गर्छ ।’

पोर्चुगल लिस्बनमा व्यवसाय गरेर बसेका इन्द्र न्यौपाने आफूलाई लाग्ने बित्तिकै सार्वजानिक गरिहाल्ने बरु नेपाली समुदायकै सहयोगमा ‘आइसोलेसन’मा बस्नुपर्ने 
बताउँछन् ।‘ केटाकेटी छन् ससाना धेरैका, कोही ४० नाघेका बिरामी पनि छन् । सकेसम्म त सबै बाँच्नुपर्यो । कोरोनाले छुने बित्तिकै मरिहालिने होइन । ख्याल पुर्‍याए निको हुने धेरै छन् । समस्या भएर साथीभाइलाई शेयर गरौँ तर रोग नलुकाउँ,’ उनी भन्छन्। 

युराेपमा बसाेबास गर्दै आएका नेपाली नबुझ्ने कोही छैनन् । सबैका हातमा महँगा महँगा इन्टरनेट जडित मोबाइल फोन छन् । तर धेरैजना कोरोना संक्रमित भएर परिवारमा दखल पुग्ला, समाजमा बेइज्जती होला भनेर चुपचाप बस्छन् । 

तैँचुप मैँचुप को यो स्थितिले भित्रभित्रै युरोपको नेपाली समुदायमा भाइरस फैलिँदै गइरहेको त छैन? बेलैमा नसोँचे पछि पछुताएर काम लाग्दैन ।

प्रकाशित मिति: : 2020-03-30 03:45:00

प्रतिकृया दिनुहोस्