२ सय ४१ बेडका क्वारेन्टाइनमा ७१ जनामात्र

जिल्लाका आठवटै स्थानीय तहमा विदेशबाट आएकालाई निगरानीको लागि राख्न भन्दै २ सय ४२ बेडका क्वारेन्टाइन निर्माण भएका छन्। भारत तथा खाडी मुलुकबाट आएकाहरुलाई राख्न बनाइएका क्वारेन्टाइन मध्ये अधिकाशं बेडहरु खाली छन्। 

जिल्ला प्रशासन कार्यालयकाअनुसार चन्दननाथ नगरपालिकामा ३०, हिमा गाउँपालिकामा ३२, पातारासीमा १०, गुठिचौरमा ६, तिलामा ५३, कनकासुन्दरीमा २०, तातोपानीमा ५० र सिंजा गाउँपालिकामा ४ गरि २ सय ४२ वेडको क्षमताको क्वारेन्टाइन भएपनि ७१ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्।

कर्णाली प्राविधिक शिक्षालयमा चन्दननाथ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एक जना पनि छैन भने हिमा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा ३२ जनालाई राखिएको छ। पातारासीमा बच्चासहित ९, गुठिचौरमा १, तिलामा १०, होम क्वारेन्टाइनमा १ जना, सिंजामा १२ जना र कनकासुन्दरीमा रहेको क्वारेन्टाइनमा ५ जना राखिएको छ। तोतोपानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सबै जना घर गैसकेका छन्।

जुम्लाबाट १५ जना विदेशी फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। हाल सम्म ११ जना महिला ६० जना पुरुष मात्रै क्वारेन्टाइनमा बसेका छन्। विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार ३ सय ७१ जना भारतबाट जुम्ला भित्रिएका छन् भने तेस्रो मुलकुबाट १३ जना जिल्ला भित्रिएका छन्। उनीहरु सबै क्वारेन्टाइनमा बसेमा नपुग्ने बेड भएपनि अधिकांश खाली नै छन्।

लकडाउनकै समयमा जिल्ला भित्रिएका धेरै जसो क्वारेन्टाइनमा नबसेर गाउँ गैसकेका छन्। स्थानीय तहले पटकपटक अनुरोध गर्दा समेत उनीहरु क्वारेन्टाइनमा बसेका छैनन्।

प्रकाशित मिति: : 2020-03-31 12:47:49

प्रतिकृया दिनुहोस्