'कोरोना संक्रमण नियन्त्रणका लागि कडा कदम चाल्नुहोस्'

बिमला गुप्ता

जनकपुरधाम

मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणका लागि कडा कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा मंगलवार भएको बैठकमा बोल्दै मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जन धनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका हुन्।

 समान्य रुघा खोकीको उपचारमा चिकित्सक तथा अस्पतालहरुले लापरवाही गरिरहेको गुनासो सुन्दै आएको बताउदैं उनले अस्पताल र चिकित्सकहरुलाई सूचि तयार गरी प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए।

 'राज्यको सुविधा प्रयोग गरेता पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारवाही गर्छौ', उनले भने, 'तपाईहरु सिफारिस गर्नु लाइन्सेन्स खारेजी सम्मको कारवाही गर्नेछौं।'

 महामारी नियन्त्रणका लागि आवश्यकता अनुसारको व्यवस्था जिल्लास्तरमै गर्न सुझव दिदैं मुख्यमन्त्री राउतले रकमको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। 

उक्त बैठकमा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश राय र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालेलगायतले अहिलेको परिस्थितिमा गर्नुपर्ने कामका बारेमा धारणा व्यक्त गरेका थिए। 

सो बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुख, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2020-03-31 19:33:23

प्रतिकृया दिनुहोस्