कोरोनाका कारण युरोपमा मात्र ३० हजार बढीले ज्यान गुमाए, साढे ४ लाख अझैं संक्रमित

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

चीनको हुवेई प्रान्तस्थित उहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले युरोपमा मात्र ३० हजारभन्दा बढीको ज्यान लिएको छ। 

चीनले सन् २०१९  डिसेम्बरको तेस्रो साता विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस संक्रमणको जानकारी दिएपछि यसको विषयमा विश्वले थाहा पाएको थियो। दुई चिनियाँ पर्यटकसँगै इटाली पुगेको कोरोनाको संक्रमणसँगै अहिले युरोप चिहानमा परिवर्तन हुँदै गइरहेको छ। 

इटालीमा उहान शहरबाट आएका दुई चिनियाँ पर्यटकमा कोभिड–१९ को संक्रमण देखिएको थियो। त्यसयता यहाँ १२ हजार भन्दा बढी मानिसको निधन भइसकेको छ भने मर्ने सिलसिला रोकिएको छैन। इटालीसँगै अन्य युरोपेली देश पनि कोरोना भाइरसको आगोमा लटपटिएका छन्। 

इटालीपछि स्पेनमा मर्नेको संख्या १० हजार पुग्न लागेको छ। फ्रान्सको अवस्था पनि पछिल्लो केही दिनयता राम्रो छैन। यहाँ पनि ३५ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ। नेदरल्यान्डमा पनि हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। बेल्जियम र जर्मनीको अवस्था पनि दिनहुँ कठिन बन्दै गइरहेको छ। यहाँ पनि मर्नेको संख्या हजार पुग्न लागेको छ भने संक्रमित बढ्न थालेका छन्। 

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको रिपोर्टमा बुधबार नेपाली समयअनुसार २ बजे दिउँसो युरोपेली राष्ट्रमा मात्र ३० हजार ६३ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै, यहाँ ४ लाख ५८ हजार ६ सय १ संक्रमण देखिएको छ। 

हालसम्म विश्वमा ४३ हजार २ सय ६९ जनाको ज्यान गएको छ। यसमध्ये इटालीमा सर्वाधिक १२ हजार ४ सय २८ ले ज्यान गुमाइसकेका छन्। यहाँ १ लाख ५ हजार ७ सय ९२ जना अझै संक्रमित छन्। 

यस्तै, स्पेनमा ९ हजार ५३ जनाको निधन भएको छ। यहाँ पनि १ लाख २ हजार १ सय ३६ जना अझै संक्रमित छन्। 

प्रकाशित मिति: : 2020-04-01 16:31:12

प्रतिकृया दिनुहोस्