संकटमा युरोपका यौनकर्मी

बिएल संवाददाता

जेनेभा ब्यूराे

कोरोना भाइरसको संक्रमण ‘दिन दुगुना रात चौगुना’ काे हिसाबले बढ्दै जाँदा युरोपमा वेश्यावृत्ति पेशा गरेर बस्ने संकटमा परेका छन् । कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटाली,स्पेन,स्विट्जरल्याण्ड लगायत युरोपेली मुलुकमा वेश्यावृत्ति पेशा वैधानिक हो । यो पेशा बापत उनीहरुले महिनावारी कर तिर्छन्। उनीहरुको आफ्नै संगठन पनि छ। 

सरकारले उनीहरुको रेखदेख गर्न, नियमित रुपमा उनीहरुको स्वास्थ्य जाँच गर्न छुट्टै विभाग गठन गरेको हुन्छ । स्विट्जरल्याण्डको जेनेभा रेल अड्डाबाट लेमन ताल जाने बाटोमा पर्छ, व्यस्त यौनकर्मीको पाकिज क्षेत्र । यहाँ बिहानैदेखि अर्को बिहानसम्म यौनकर्मी महिला ग्राहकलाई सेवा दिइरहेका हुन्छन् । त्यो क्षेत्रमा बार, रेष्टुरेन्ट बिहानैसम्म खुल्छन् । नजिकै डिस्को थेक पनि छ । कोरोना संक्रमणको महामारी फैलिएपछि स्विस सरकारको लकडाउनपछि अहिले यो क्षेत्र सुनसान छ। यौनकर्मी चुपचाप आ–आफ्ना घरभित्र बन्दछन् । 

स्विसका प्रान्तीय सरकारले नियमित कर तिरेर यौन पेशा गरिरहेकाको हकमा मासिक लकडाउन नसकिँदासम्म आर्थिक रुपमै सहयोग गर्ने भएको छ । यौनकर्मीको साझा संस्थाले आपतविपतमा परेका यौनकर्मीको मद्धतको लागि खाद्यान्न पनि सहयोग गरिरहेको छ । 

स्थानीय पत्रिका ट्रिब्यून दि जेनेभकी पत्रकार सोफी जिमरम्यान भन्छिन्, जेनेभा संसारकै सुन्दर कुटनीतिक र व्यापारिक पर्यटकीय नगर हो । यहाँको पर्यटन उद्योगमा जसरी घडी, यहाँको डेरी उत्पादन, अन्तर्राष्ट्रिय संघसंस्थाको भूमिका छ, त्यसैगरी यहाँको रेडलाइट एरियाको पनि उत्तिकै भूमिका छ । कतिपय मानिस 
रेडलाइटमा गएर रमाइलो गर्छन् तर यौनकर्मीलाई अपमान गर्छन् । तर उनीहरुको भूमिकालाई यहाँको संघीय सरकारले बुझेको छ । उनीहरुको रक्षाको निम्ति प्रतिवद्ध पनि छ।

विना रेडलाइट एरिया हराभरा पर्यटनको कल्पना पनि गर्न नसक्ने विचार राख्छन्, यहाँका योजनाविद्हरु । स्विस सरकारले पर्यटकीय भिसामा आएर यौनकर्म गर्नेलाई ढोका खुल्ला गर्ने नीति नै लिएको छ । जसअनुसार दक्षिण अमेरिकी, फ्रेन्च भाषी, अफ्रिकी मुलकालाई भिसा सहज गर्ने रणनीति नै छ । कोलम्बिया, भेनेजुयला, इक्वेडोर लगायतका मुलुकमा अहिले पनि सहजै उपलब्ध हुन्छ युवतीलाई स्विट्जरल्याण्डको पर्यटकीय भिसा । कर नतिरी लुकिछिपी यो पेशामा लागेको भेटिएमा सरकारले उतै फिर्ता गरिदिन पनि सक्छ । 

यस्तै अवस्था छन्, फ्रान्सको पेरिस आसपासका यौनकर्मी पनि । एएफपीका पत्रकारले गरेको खोजमा निषेधाज्ञा उल्लंघन गरेर घरघरमै गएर सेवा दिन खोजेका केही 
यौनकर्मीलाई प्रहरीले गिरफ्तार पनि गरेको छ । उनीहरुलाई जरिवाना तिराएर छोडिएको छ । सरकारले सहयोग नगरेकोले आफूहरु घरघरमै गएर सेवा दिन लागेको बताउने ती महिलालाई जरिवाना तिराएर छोडिएको उक्त समाचार संस्थाले जनाएको छ । 

कोरोनाको महामारीको बेला घरघरमै यौनसेवा पुर्‍याउन खोज्नु झन् खतरनाक भएको बताउँदै सरकारले उनीहरुलाई न्यूनतम बाँच्ने प्रबन्ध गर्नुपर्ने माग गर्दै 
नगरपालिकालाई पत्र पनि पठाइएकाे छ । पत्रलाई गम्भीरतापूर्वक लिएको नगरका प्रवक्ताले बताएका छन् । 

पोर्चुगलको लिस्बनका स्थिति अझै डरलाग्दो छ । लिस्बनमा बाटोघाटोमा उभिन बन्द छ । महिलाहरु घरभित्रै छन् । उनीहरुको खर्च सकिएको छ। आवश्यक रकम छैन । यसरी यौनकर्मी भोकभोकै मर्न नदिन अधिकारकर्मीले मेयरसँग सहयोग मागिरहेका छन्। लकडाउन लम्बिएको खण्डमा नगरपालिकाले सहयोग गर्ने जनाएको छ ।

अहिले स्थानीय रेडक्रस, चर्चले असाध्यै अप्ठेरोमा परेकाको लागि हटलाइन सेवामार्फत् आवश्यक सहयोग र खाद्यान्न आपूर्तिमा सघाउ पुर्‍याइरहेको छ । धेरै
जसो महिला गैर कानूनी रुपमा यो पेशामा लागेको हुनाले सरकारले थोरैलाई मात्र सहयोग गर्न लागेको यौनकर्मीको मद्धतका निम्ति खुलेको संस्थाकी प्रवक्ता 
क्रिष्टिना गोमेसले बताइन् । गोमेस भन्छिन्, ‘कतिपय यौनकर्मी महिलाले यो पेशाबाट आफ्ना साना केटाकेटीको खर्च पुर्‍याएको पनि देखियो । अब उनीहरुलाई निकै समस्या पर्ने देखिन्छ।’ 

उसो त अहिले लकडाउनमा बस्नेलाई अनलाई पोर्न पोर्टलले विशेष सेवा दिइरहेका खबर पनि युरोपका पत्रपत्रिकामा दिनहुँजसो आउँछन्। सधै बाटोमा ग्राहक कुरेर बस्नेले पनि अनलाइनबाटै क्रेडिट कार्डबाट पैसा लिएर भर्चूअल सेवा दिइरहेका छन्। इटालीमा पोर्न हब नामको अनलाइन पोर्टलले ग्राहकको लागि अनलाइनमै बिशेष भर्चुअल सेवा निशुल्क रुपमा चलाएको थियो। 

यो महामारीमा पनि यौनकर्मी विभिन्न उपाय अपनाएर आफ्नो धन्दामा लागिरहेको देख्दा युरोपेली मिडिया छक्क परेका छन् ।

याे पनि:

न्युयाेर्कमा काेराेना कहरसँगै फेरिएकाे मेराे दैनिकी

फ्रान्समा कोरोनाविरूद्ध एन्टिबडी टेस्ट, गरियो प्रत्यक्ष प्रसारण

हामीलाई कोरोना सर्ने त्राशभन्दा बढी नागरिकको चिन्ता छः एसएसपी ढकाल (भिडियो)

हामी स्वास्थ्यकर्मी नै खटिएनाैं भने काेराेनाविरुद्धकाे लडाईंमा काे खटिन्छ? (भिडियाे)

कोरोनाका कारण युरोपमा मात्र ३० हजार बढीले ज्यान गुमाए, साढे ४ लाख अझैं संक्रमित

प्रकाशित मिति: : 2020-04-02 09:58:59

प्रतिकृया दिनुहोस्