हामीलाई कोरोना सर्ने त्राशभन्दा बढी नागरिकको चिन्ता छः एसएसपी ढकाल (भिडियो)

चीनबाट सुरू भएको कोरोना भाईरसले अहिले विश्वभरी महामारीको रूपमा फैलिरहेको छ। कोरोनाको थप संक्रमण रोक्न विश्वका शक्तिशाली राष्ट्रसँगै नेपाल सरकारले पनि मुलुक लकडाउन गरेको छ।

विश्व स्वास्थ्य संगठनलेसमेत कोरोनाको उच्च जोखिममा राखेको नेपालले थप फैलन नदिन ९ दिन अघिदेखि लकडाउनको घोषणा गरेको छ।

लकडाउनपछि आम नागरिक घरभित्रै छन्। तर, सुरक्षाकर्मी भने लकडाउनलाई सफल बनाउन सडकमा खटिएका छन्।

पर्याप्त स्रोत र साधनको अभावका बाबजुत पनि सुरक्षाकर्मीहरू कोरोना फैलन नदिन आम सर्वसाधारणलाई सचेत बनाउन सडकमा खटिएका छन्।

लकडाउनको कार्यान्वयन गराउन र आमनागरिकको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी कोरोना भाइरसको संक्रमणबाट कति सुरक्षित छ त ? प्रहरीले सुरक्षाको के कस्ता विधिहरू अपनाएको छ ? यो आमचासोको विषय हो।

कोरोनाको उच्च जोखिममा रहेका ट्राफिक प्रहरीको अवस्था पनि उस्तै छ। २४ घण्टा सडकमा खटिने प्रहरीलाई कोरोनाको भन्दा पनि नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता छ। सर्वसाधारणको चिन्तालाई आत्मसाथ गर्दै हरेक क्षण सडकमै रहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

‘यो रोग प्रहरी भनेर नलाग्ने होइन, तर हामी सबै त्यो रिक्स लिएर सडकमा छौं। तपाईँहरू आफूलाई रिक्समा नमोल्नुस्,’ उनले भने।

आफूहरू रात बिहान नभनी सर्वसाधारणको लागि खटेको भन्दै उनले घरमै बसिदिन आग्रह गरे। ‘हामी ट्राफिक प्रहरी सिमित स्रोत साधनका बाबजुत सडकमा खटिएका छौं, हामीले आफ्नो होइन आम नागरिकको ख्याल गर्दै आएका छौं। यो कुरा सबैले बुझ्न जरुरी छ’, उनले भने, ‘हामी बिहान, बेलुका, राती नभनी २४ सैं घण्टा सडकमै छौं।’

राष्ट्र र नागरिकलाई परेका बेला जे सुकै पनि गर्नुपर्ने हाम्रो धर्म रहेको भन्दै उनले राष्ट्रमा आईपरेको चुनौतीको सामना गर्न आफूरहरू डटेर लडिरहेको बताए।

प्रहरीलाई पनि ज्यानको माया हुने भन्दै उनले भने, ‘ज्यानको माया मानेर घरमै बस्न थाल्यौं भने सडक सुरक्षासँगै नागरिकको सुरक्षा कसले गर्ने?,’ उनले प्रश्न गरे।

‘सकेसम्म नेपाली नागरिकलाई यो भयाभह संक्रमणबाट बचाउन हामीलाई आएको चुनौतीको सामना गर्नैपर्छ, यो चुनौतीलाई हामीले अवसरका रुपमा परिणत गरी काम गर्नु जरूरी छ’, उनले भने।

उनले प्रहरीले सीमित स्रोत र साधनमा जोखिम मोलेर नागरिकहरूलाई सुरक्षा दिइरहेको भन्दै यो बन्द हड्ताल जस्तो होइन बिल्कुलै नयाँ र प्राकृतिक महामारी भएकाले प्रहरीले जोखिममै मोलेर काम गरिरहेका स्पष्ट पारे।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउन कार्यान्वयन गराउन ६ सयभन्दा बढी ट्राफिक कर्मचारी खटिएका छन्।

प्रकाशित मिति: : 2020-04-01 11:09:05

प्रतिकृया दिनुहोस्