हामी स्वास्थ्यकर्मी नै खटिएनाैं भने काेराेनाविरुद्धकाे लडाईंमा काे खटिन्छ? (भिडियाे)

विश्वभरि महामारीको रुप धारण गरिसकेकाे कोरोना भाइरस जुम्ला जिल्लामा पनि फैलिने डर भएको हुँदा जुम्ला र कालिकोटको सिमाना नाग्ममा हेल्थ डेक्स स्थापना गर्ने निर्णय भएको थियो। भारत तथा अन्य क्षेत्रबाट मुगु र जुम्ला जिल्लामा भित्रिने प्रमुख नाका हो नाग्म। सम्पूर्ण यात्रुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले स्थापना भएको उक्त हेल्थ डेक्समा म पनि कार्यरत थिए।

प्रतिष्ठानले खटाउन खोज्दा को को जाने, के के गर्ने भन्ने अन्यौल त थियो नै। तथापि प्रतिष्ठानमा कार्यरत डा. कपिल अमगाँई, विवश खड्का र मलगायत ३ जना हेल्थ असिस्टेण्ड सम्भाव्यता अध्ययन गर्न चैत ९ गते बिहान ९ बजेदेखि नै खटिएका थियौं। हाम्राे टिमले दिनभर हेल्थ डेस्क स्थापना तथा सुरक्षा व्यवस्थापनको प्रबन्ध मिलाएपछि १० गते बिहान डा. कपिल अमगाँई, डा. बिशाल पोखरेल, निशान्त लामा,विवश खड्का र म सहितको टोली नाग्ममा पुगेकाे थियाे।  

स्वास्थ्य परीक्षण गर्न गएकाे टोलीको सुरक्षाको प्रत्याभुति जिल्ला प्रहरी कार्यालयले गर्ने कुरा थियो। तर भने बमोजिमको सुरक्षा नपाएपछि जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेलाई सुरक्षा अवस्थाको बारेमा जानकारी दियौं। उहाँको समन्वयमा रारालिही प्रहरी चौकिबाट हवलदार राम बहादुर खत्रीको नेतृत्वमा २ जना प्रहरी तथा नन्दबक्स गण, जुम्लाबाट उप–सेनानी दिगन्तराज आचार्यको नेतृत्वमा ७ जना नेपाली सेना बिहान ७ देखि बेलुका ७ बजेसम्म बस्ने भए। तर हाम्रो टोली बिहान ६ देखि राती ९ः३० बजेसम्म बसेर स्वास्थ्य परीक्षण गरिरहेको थियो। सुरक्षाकर्मी घर फर्किसकेपछि पनि हामी दुई समूहमा विभाजन भएर कसैले सुरक्षाकर्मीले गरिरहेको काम गर्ने तथा कसैले स्वास्थ्य परीक्षणको काम गर्थ्याै। 

पछि नेपाल सरकारले ‘लकडाउन’ गर्‍याे। ‘लकडाउन’ का कारण कालिकोटस्थित नाग्ममा भएका सबै होटल व्यवसायीले होटल बन्द गर्ने निर्णय गरे। हाम्रो विशेष अनुरोधमा रारा कर्णाली होटल र नजिकैको अर्को होटल बल्लबल्ल हामीलाई खाना र खाजा खुवाउन राजी भयाे। 

मनदेखि नै यो क्षेत्रमा कुनै विपत् नआइपुगोस् भनि स्वास्थ्य परीक्षणमा लागेका साथीहरु एक माक्स र गोलोब्सको भरमा स्वास्थ परीक्षणमा लागेका थियौं। हामी कति पो सुरक्षित हुन्थ्यौं र ? तर पनि हामीले आफ्नो कर्तब्यबाट भाग्न हुँदैनथ्यो। हामी नै भाग्यौं भने कसरीजोखिम कम होला भन्ने मानसिकता राखेर काम गरिरहेका थियौं। यदि हामीलाई यात्रुबाट कारोना भाइरस सरेको छ भने अबको १४ दिनमा लक्षण देखिन्छ होला। तर पनि हामी आफूलाई आइपर्ने भवितव्यको बारे कति पनि बिचल्लित भएका छैनौं।

हामी अहिले क्वारेन्टाइनमा छौं। क्वारेन्टाइन पश्चात हाम्रो शरीरमा कोरोना भाइसर नसरहेको भए हामी प्रतिष्ठानले खटाएको जुनसुकै नाकामा गएर काम गर्न सक्छौं। हामीले धेरै बिरामी हेरिसकेकाे हुँदा अनुभव पनि भइसकेको छ। कुनै पनि स्थानमा खटाइएका स्वास्थ्यकर्मी जान मानेनन् भने हामीलाई नै भने हुन्छ। हामी जता, जुनसुकै स्थानमा गएर स्वास्थ्य परीक्षण गर्न तयार छौं। हामीलाई कुनै डर छैन। यदि हामीलाई कोरोना सरेको रहेछ भने आफ्नै उपचारमा लाग्नु पर्छ होला।

हामीलाई कोरोना सरेको भए नेपाल सरकारले उपचार गर्छ भन्ने विश्वास लिएका छौं।सरकारले गर्न नसकेर केही भइहाल्यो भने पनि कुनै पश्चताप हुने छैन। किनकि हामीले आफ्नै देशमा अलिकति भए पनि केही गर्न खोजेका छौं। खुसी नै हुनेछौं। निराश छैनौं र कहिले पनि निराश हुदैनौं। 

नाग्मको होटेल साहु देवी शाहीले भनेको कुरा जस्ताको तस्तै सुनाउन चाहन्छु, ‘हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको टोलीलाई देख्दा सुरुमा त पोस्टर टाँस्छन्। अलिअलि काम गरे जस्तो गरेर जान्छन् होला भन्ने सोचेका थियौं। मैले त होटेलमा खाजा, खाना खुवाउन सक्दैन भनि सकेको थिए। किनकि बिरामी चेकजाँच गर्ने डाक्टरहरु होटेलमा आउँदा मलाई पनि कोरोना सल्किन्छ भन्ने सोचेर डराएकै हो। पछि उहाँहरु बिहान ६ बजेदेखि राति ९, १० बजेसम्म बसेर काम गर्न थाल्नु भयो। हामीहरुलाई पनि धेरै कुरा सिकाउनु भयो। हात कसरी धुने, कति पटक धुने, यात्रुसँगको दुरी कति बनाउने, कसरी रोग सर्छ?भन्ने जस्ता धेरै कुराहरु सिकाउनु भयो। उहाँहरु कामका भोका मान्छे जस्तो लाग्यो। मैले यसरी काम गर्ने मान्छेहरु देखेकै थिएन।’

शाहीले संकटमा देखाएको आत्मियताले मन थान्म सकेन। आँखा रसाए। ५ दिनसम्म नाग्ममा स्वास्थ्य परीक्षण पश्चात जिल्ला स्वास्थ्यको टिमलाई ह्यान्डओभर गर्नु पर्‍यो भन्ने आदेश आयो। हामी फर्किनु पर्ने भयो। हामीले सुरुवाति दिनमा झन्डै ११ सय जनाको स्वास्थ्य परिक्षण गर्‍यौं भने अन्तिम दिनमा आइपुग्दा १ सय ५० को हाराहारीमा यात्रुको संख्या पुगेको थियो।

हामी अस्पतालमा आएर काम गर्नु पर्‍र्यो भनेर फर्काइएका हौं।प्रतिष्ठानमा पुग्दा हामीलाई संक्रमित भएको भए अरुलाई पनि सर्न सक्छ भनेर क्वारेन्टाइनमा राख्ने भन्ने निर्णय भएको रहेछ। क्वारेन्टाइनमा बस्न प्रस्ताव आएपछि हामीले सहजै स्वीकार गर्‍यौं। हाम्रो अटेरीले दैनिक जसो अस्पतालमा आउने सयौं मान्छेको ज्यान खतरामा पर्न सक्थ्यो।

धन्यवाद, प्रतिष्ठान परिवारलाई। व्यवस्थापन गरिएको क्वारेन्टाइन राम्रो छ। हामी खुसी छौं। तर काम गरि राखेका हामीलाई बिनाकाम कोठा भित्रै बस्न साह्रै गाह्रो भइरहेको छ। क्वारेन्टाइन अघोषित जेल जस्तो लाग्न थालेको छ तर पनि हामी अरुको स्वास्थ्यको ख्याल गरेर बाहिर निस्किन मिल्दैन।

अरुले गर्ने व्यवहारले स्वास्थ्य परीक्षण गर्ने स्थान नै ठिक थियो जस्तो लाग्छ। हामीलाई अरुले संक्रमित भएका मानिस नै हुन भने झैं व्यवहार देखाउँदा सारै दु:ख लाग्छ। यदि हामीलाई साँच्चिकै संक्रमण भयो भने के व्यवहार खेप्नु पर्ने हो, थाहा छैन? त्यो सोचेर अहिले नै डर लाग्न थालेको छ। यसो भनि राख्दा सावधानी नै नअपनाउने भन्ने भने पक्कै पनि होइन। हामी आफै धेरै सजक छौं। कोठा भित्रै बस्दा घरको बनावट हेर्ने, मोबाइल चलाउने,सुत्ने बाहेक अन्य कुनै उपाए नै छैन तर पनि हामी निकै खुसी साथ बस्न तयार भएका छौं।म लकडाउनको बेला सबैलाई यहि आग्रह गर्न चाहन्छु।

अन्तमा, हामीले बाहिरबाट आएका मान्छेको स्वास्थ्य परीक्षण गरिसकेका छौ। उहाँहरु घरमा नै बसिरहनु भएको होला भन्ने लागेको छ। हामीले देशभन्दा बाहिरबाट आएका मान्छेको फोन नम्बर पनि लिएका छौं।उहाँहरुको हालको स्वास्थ्य अवस्था पनि फोन गरेर बुझ्नु पर्छ।हरेक समुदायमा गई जनचेतना दिने कार्य गर्नु नै अबको उत्तम उपाय हो। सरोकारवालाले अब सोच्न अत्यन्त जरुरी छ।

याे पनि:

वीरगञ्जमा भारतीय नागरिक राेकिए, दशगजा तनावग्रस्त [भिडियाे]

नेपालका धनाढ्यहरू कोरोनाविरुद्ध ज्याक मा र विल गेट्सजस्तो जिम्मेवार भएनन् : पशुपतिशमशेर जबरा (अडियाे अन्तर्वार्ता)

स्विस ब्यापारी कोरोनाविरुद्ध लड्न चाहिने सामग्री किन्न चीन उडेँ

नेपाली बृद्धबृद्धालाई काेराेनाबाट जाेगाउन बेल्जियम माेडल अपनाउने कि?

कठिन समय राज्य किन चाहिन्छ?

प्रकाशित मिति: : 2020-03-31 19:39:00

प्रतिकृया दिनुहोस्