टेकुकी नर्स भन्छिन्- दुई वर्षको छोरालाई नदेखेको तीन साता भयो

सेतोपाटी

काठमाडाै‌ं

मीरा निरौलाले दुईपटक कोरोना परीक्षण गराइसकिन्। भाग्यवश दुवै रिपोर्ट नेगेटिभ आयो। यसले उनको हौसला बढेको छ, तर डर मेटिएको छैन।

मीरा टेकुको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालकी नर्स हुन्। नेपालमा भेटिएका नौ जना कोरोना संक्रमितमध्ये दुई जनाको टेकु अस्पतालमै उपचार भइरहेको छ। निको भएर गएका एक जना पनि यहीँ भर्ना थिए।

पछिल्ला अध्ययनले उपचारमा संलग्न डाक्टर तथा नर्सहरू सबभन्दा बढी जोखिममा रहेको देखाएको छ। उनीहरू एकैचोटि धेरै भाइरसको सम्पर्कमा आउने हुँदा बिरामी पर्ने सम्भावना धेरै भएको चीन, अमेरिका र इटालीको अनुभवले देखाउँछ। भारतको मुम्बईस्थित एक अस्पतालमा पनि २६ नर्स र तीन जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

यस्तो अवस्थामा पर्याप्त सुरक्षा उपकरणबिना ड्युटीमा खटिएका नेपालका डाक्टर तथा नर्समा संक्रमणको जोखिम धेरै छ।

टेकु अस्पतालमा कोरोना उपचारका लागि २० जनाको समूह खटाइएको छ। मीरा त्यसैमध्ये एक हुन्। भरपर्दो सुरक्षा उपकरण नहुँदा त्रासमा काम गर्नुपरेको उनी बताउँछिन्।

'दुईपटक परीक्षण गर्दा नेगेटिभ आएपछि बल्ल मन सन्चो भएको छ, हौसला बढेको छ,' उनले सेतोपाटीसँग भनिन्।

टेकु अस्पतालका स्वास्थ्यकर्मीले पहिलोपटक डिसेम्बर महिनामै कोरोना बिरामीको उपचार गरेका थिए। त्यति बेला यो महामारी चीनमै सीमित थियो। वुहानबाट आएका एक नेपाली विद्यार्थी टेकुमा भर्ना भएका थिए। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भएपछि उनको घाँटीको स्वाब हङकङ पठाइएको थियो। रिपोर्टमा कोरोना पुष्टि भयो। त्यति बेलासम्म उनी डिस्चार्ज भइसकेका थिए। 

'उनको पोजिटिभ रिपोर्ट आएपछि हामी सबै डराएका थियौं। उनी एक सातामा निको भएर गए, तर हामीलाई सर्‍यो कि भन्ने भयो। धन्न कसैलाई केही भएन,' मीराले भनिन्, 'त्यो घटनाले हामी सबैको मनोबल बढेको छ।'
 

प्रकाशित मिति: : 2020-04-06 18:40:01

प्रतिकृया दिनुहोस्