बेलायती प्रधानमन्त्री जोन्सनकाे स्वास्थ्यमा क्रमिक सुधार, आईसीयूबाहिर सारियाे

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको छ। तीन दिनको आइसियू बसाइपछि स्वास्थ्यमा सुधार आएको हो। उनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार नभएपछि गएको आइतबार लण्डनको सेन्ट थोमस हस्पिटलमा भर्ना गरिएको थियो।

उनको स्वास्थ्य गम्भीर भएपछि सोमबार आइसियूमा सारिएको थियो। तीनपछि उनको स्वास्थ्य राम्रो भएपछि बिहीबार आइसियू बाहिर सामान्य वार्डमा सारिएको हो।

बिहीबार बेलुका वार्डमा सारिए पनि डाक्टरहरुले उनको सुधारको निगरानी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री जोन्सनको आत्मबल अति उच्च रहेको जनाइएको छ।

कोरोनाको संक्रमण पुष्टि भएको १० दिनपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। आइसियूमा उनलाई अक्सिजन दिइए पनि भेन्टिलेटरमा भने राखिएको थिएन।

जोन्सनको स्वास्थ्यमा सुधार आएको थाहा पाउने वित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्सको बिहीबारको नियमित ब्रिफिङ्गको क्रममा पनि जोन्सनको स्वास्थ्य लाभको कामना गरेका छन्। 

त्यसलाई अति खुशीको कुरा भन्दै थप शिघ्र स्वास्थ्य लाभको कामना गरे। बेलायतमा कोरोनाका कारण अहिलेसम्म सात हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ। संक्रमितको संख्या ६५ हजार भन्दा बढी पुगेको छ।

प्रकाशित मिति: : 2020-04-10 06:55:44

प्रतिकृया दिनुहोस्