लन्डनमा कारोना संक्रमितको उपचारमा खटिएकी नर्स प्रसुना भन्छिन्, ‘प्रायःमा डिप्रेसन र एन्जाइटीको समस्या’ (भिडियाे)

बेलायतको लन्डनमा रहेको इलिङ अस्पताल,जहाँ हजारौंको संख्यामा कोरोना संक्रमित बिरामी उपचार गराइरहेका छन्। यही अस्पतालमा एक नेपाली चेली प्रसुना कणेंल विगत एक दशकदेखि काम गर्दै आइरहेकी छिन्। 

उनी इन्टेन्सिभ केयर युनिट अर्थात आइसीयूमा काम गर्छिन्। जहाँ स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएका बिरामीलाई राख्ने गरिन्छ। यति बेला यो वार्ड कारोना संक्रमितले भरिभराउ छ। 

र, यही उच्च जोखिमका बीच प्रसुना बिहानदेखि अबेर रातीसम्म अस्पतालमा खटिएकी हुन्छिन्। 

युरोपको इटाली र फ्रान्सपछि जसरी अमेरिकामा कोरोनाको डढेँलो सल्किएको छ। यस्तै बेलायतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँका डाक्टर र नर्सहरू उच्च जोखिममा छन्। 

फेरि दिनहुँ संक्रमणका कारण नर्सहरूको निधन भएको खबर आइरहँदा प्रसुनाको घरपरिवार पनि आत्तिएका छन्। उनलाई घरबाट तारम्तार नेपाल फर्किन आग्रह गरिएको छ। 

तर, उनी आफ्नो काममा यसरी दत्तचित्त भएर लागेकी छिन्। जसको कामको उच्च प्रसंसा अस्पतालभित्रै हुन थालेको छ। हुनत यति बेला डाक्टर र नर्सको प्रसंसा विश्वभरि नै भइरहेको छ तर बेलायतमा सरुवा रोग सर्न नदिन लगाइने पोशाक पीपीईको अभावमा पनि डाक्टर र नर्स दिनरात खटिरहेका छन्। यसभित्र प्रसुना पनि पर्छिन्।

प्रसुनाको घर धादिङको मलेखु हो। उनी परिवारकी एक्ली छोरी हुन्। उनका दाजु दक्षिण कोरियाको सिओलमा कार्यरत छन्। केही समय वीर अस्पतालमा पनि काम गरेकी प्रसुना सन् २००५ मा लन्डन पुगेकी थिइन। उनले लण्डनबाट ‘बिएस्सी ईन क्रिटिकल केयर’ मा नर्सिङ गरेकी छिन् र एडभान्स प्राक्टिसमा ‘एमएससी’ को अध्ययन पुरा गरिसकेकी छिन्। 

उनका साथीहरू उनलाई साह्रै कम बोल्ने स्वभावकी भन्न रुचाउँछन्। उनी आफू पनि पहिले आफूलाई कमजोर मनोवल भएको मान्थिन्। तर, अहिले कोरोनाविरूद्धको लडाईंमा उनले देखाएको उर्जादेखेर साथीभाईदेखि परिवारसम्म चकित परेका छन्। 

उनले यो ४ साताको दौरान आफ्नो अस्पतालमा कैयन बिरामी कोरोना भाइरसका कारण मरेको देखेकी छिन्। उनीहरूको पिडा र रोगले च्याप्दाको अवस्था नजिकबाट देखेकी प्रसुनालाई कहिले काहीँ निन्द्रा पनि लाग्दैन। केही दिनअघि मात्र आफ्नै वार्डका ५ जना एकैदिन मरेको घटनाबाट यति बेला दुःखी उनी भन्छिन्, ‘बेलायतमा कोरोनाको अवस्था खराब रहेको कुरा मैले भनिरहनु पर्दैन होला। तर, आफ्नै वार्डमा आफ्नै आँखा अगाडी रोगसँग लड्न नसकेर मान्छे मरेको देख्छु मलाई पिडा हुन्छ।’

उनले अस्पतालमा संक्रमित आउँदा जसरी पनि आफूलाई बचाउन आग्रह गर्ने गरेको सुनाउँदै उनले बिएल नेपाली सेवासँग भनिन्, ‘अहिले त संक्रमितमध्ये अत्याधिकलाई एन्जाइटी र डिप्रेसन भएको देख्छु। संक्रमण हुनेवित्तिकै उनीहरू बाच्ने आशा नै छोडिदिन्छन्। प्रायःमा नकारात्मक सोच बढी छ।’

बेलायतमा पीपीई र पन्जाको अभावमा काम गर्दा उनका केही साथीमा पनि संक्रमण देखिएको छ। ती साथीलाई पनि आइसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले सुनाइन्। 

उनी यसरी रातदिन खटेर काम गर्दा हिजोआज सपनामा पनि अस्पतालको ‘फ्ल्यासब्याक’ आउने गरेको बताउँछिन्। ‘म प्रायः अस्पतालको भेन्टिलेटरमा छटपटाइरहेका बिरामीको अनुहार मात्र देख्छु,’ उनले भनिन्–‘यो मेरो मात्र होइन, अस्पतालमा कार्यरत प्रायः सबै डाक्टर र नर्सको समस्या हो।’

उनी काममा बढी दत्तचित्त भएका कारण यस्तो भएको बताउँछिन् र यो पछि विस्तारै हराउँदै जाने विश्वास व्यक्त गर्छिन्। 

अहिले बेलायतमा कोरोनाको संक्रमणविरूद्ध कसरी लड्ने भन्ने चुनौति सरकारलाई छ। यस्तै, कोरोना संक्रमितलाई कसरी जोगाउने भन्ने चुनौति चिकित्सक र नर्समा थपिएको छ। यही चुनौतिको डटेर सामना गरिरहेकी छिन्, प्रसुनाजस्ता हजारौं चेलीहरू यति बेला परदेशमा।  

प्रकाशित मिति: : 2020-04-13 09:50:00

प्रतिकृया दिनुहोस्