कोरोनाको त्रासमा मनाईयो नयाँ वर्ष

नेपाली नयाँ वर्ष विक्रम सम्वत २०७७ आज सोमबारदेखि सुरू भएको छ। नयाँ वर्ष भन्ने वित्तिकै साथीभाइ बिच जमघट र रमाइलो एवं मेला उत्सव झट्ट आउँछ।

गएका वर्षमा एक अर्कालाई उपहार दिएर, मिठो खानेकुरा खाएर, घुम्न गएर नयाँ वर्ष मनाउने गरिन्थ्यो। तर संसारभर महामारीको रूपमा देखापरेको कोरोना भाइरसका कारण यस वर्षको नयाँ वर्ष फरक तरिकाले बित्यो।

नेपालमा पनि कोरोनाका नयाँ संक्रमित फेला परेपछि सरकारले पुरै नेपाल लकडाउन गरेको छ। बाहिर निस्कन बन्देज गरेको छ।

यो सँगै पहिलो पटक नेपालीहरूले घरभित्रै बसेर नयाँ वर्ष मनाए।

यता औद्योगीक नगरी वीरगञ्जमा आईतबार एकैपटक ३ जनामा कोरानाको संक्रमण फेला परेसँगै यस क्षेत्रको जनजीवन थप आतंकित बनेको छ।

प्रहरी प्रशासनले संक्रमित फेला परेको क्षेत्र तत्काल शील गरेर सुरक्षा व्यवस्था कडा पारेको छ।

बिहानैदेखि बजार, पसललगायत आसपासका क्षेत्रमा रहेका औषधि पसलबाहेक बाँकी सबै पसल बन्द गराएको छ।

आइतबारसम्म लकडाउनको समयमा बिहान ६ बजे देखि ९ बजेसम्म तरकारी तथा दुधका पसलहरूमा सामाजिक दूरी कायम गरेर सञ्चालन गर्ने अनुमति दिए पनि सोमबार यस्तो देखिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ कोरोना भाइरसको संक्रमण रोक्न अहोरात्र खटिएकाको सम्मानमा आज बिहान ८ बजे राष्ट्रिय गीत गाउन र ताली बजाउन सबैलाई आह्वान गरेका थिए। सोही अनुसार देशवासीले पनि अरू वर्षभन्दा फरक तरिकाले आज बिहान ८ बजे कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरूवात गरे।

यद्यपी संक्रमणको मुख्य घेरामा रहेको वीरगञ्जमा कसरी मनाईयो नयाँ वर्ष। यसै विषयमा बिएल नेपाली सेवाका लागि हाम्री सहकर्मी बिमला गुप्ताले वीरगञ्जका केही युवालाई सोधेकी थिइन्- नयाँ वर्ष कसरी मनाउनुभयो?

हेर्नुहोस् उनीहरूको जवाफको संपादीत अंश।

वीरगञ्जको छपकैया क्षेत्र अहिले जोखिम पूर्ण अवस्थामा छ। यहीको एक मस्जिदबाट ३ जना संक्रमित फेला परेसँगै यहाँका स्थानीय तनावमा छन्। सम्पूर्ण वडा नै स्थानीय प्रशासनले शील गरेको छ। थप संक्रमण फैलन नदिन जति स्थानीय प्रशासन सक्रिय छ त्यो भन्दा बढी हरेक घरका परिवार सचेत छन्।

२ नं वडाका एक युवा व्यापरी जाबार हुँसैन अन्सारीले यसअघिका हरेक नयाँ वर्ष रमाइलो गरी मनाएका थिए। तर यसपाली तनावमा उनको नयाँ वर्ष बित्यो।

‘पहिलादेखि रमाइलो गरि मनाउँदै आएको नयाँ वर्ष यसपाली कोरोना त्रासले खल्लो भयो’, उनले भने,‘हाम्रो एरिया प्रसाशनले शील गरेपछि घरमै बसेर परिवारसँगै नयाँ वर्ष मनाइयो।’

प्रधानमन्त्रीको आव्हानपछि राष्ट्रिय गानसहित दिनको सुरूवात परिवारसँगै गरेका उनले घरमा भएको तरकारी र अन्य खाने कुरा पकाउँदै आजको दिन बितेको बताए।

परिवारमा रमाइलो गरे पनि मन भित्र कोरोनाको त्रास कायम रहेकाले आफूले प्रशासनलाई सक्दो सहयोग गरेको उनले बताए।

‘हाम्रो छपकैया एरिया शील भएसँगै कोही पनि स्थानीय घर बाहिर गएका छैनौं प्रशासनको नियम मानेका छौ। अबको नयाँ वर्ष सुनौलो बिहानी लिएर आओस् यही मनमा विश्वास राखेको छु’, उनले भने, ‘महामारीबिरूद्ध लडाईमा बरू सरकारले लकडाउनलाई अझ सशक्त गरि म्याद थपि रेपिड टेस्ट गरे हामी जोखीमबाट जोगिनेछौ।’

सोही वडामा अंकिता कर्णको पनि घर छ। उनी मस्जिद भन्दा टाढा बस्तिमा बस्छिन्। पेशाले उनी शिक्षीका हुन्। उनी कायस्थ समुदायकी भएकाले आज नयाँ वर्षका साथै उनको घरमा सतुवाहन पर्व पनि मनाईँदै छ। तर, दुवै कोरोनाका कारण खल्लो भएको उनले सुनाइन्।

‘अरू दिनभन्दा आज त घरको कौशीमा पनि निस्किएनौ। झाल ढोका बन्द छन्। नयाँ वर्षमा खासै मिठो परीकार पाकेन। बुवालाई दमको रोग भएकाले परीवारमा झन त्रासको माहोल छ’, उनले बिएल नेपाली सेवासँग भनिन्, ‘संक्रमीत भेटिनुभन्दा पहिला मस्जिद एरियामा मानिसको आवत जावत बाक्लै रहेकाले आफूहरू पनि संक्रमणबाट डराएका छौं।’

यता केही महिना अघि वडाध्यक्ष पनि निलम्बित भएकाले वडावासीको अवस्था बुझ्न अहिले यो क्षेत्रमा कोही पनि जनप्रतिनिधि आएका छैनन्। ‘आज नयाँ वर्षसँगै सतुवाहन पर्व पनि परेकाले हरेक वर्ष सतुवा र मिठाई खाएर मनाईन्थ्यो। तर यस वर्ष किराना पसल पनि बन्द रहेकाले थोरै प्रसाद जस्तै खाएर मनायौं, उनले भनिन्, ‘मंगलबार हाम्रो जुडशितल पर्व परेको छ जसमा काँचो आप र सजिवनको तरकारी अनिवार्य हो। तर, यस वर्ष नमनाईने भयौं। मनमा नयाँ वर्षको उमङ्ग भन्दा कोरोनाको संक्रमण डर छ।’

यता घडिअर्वाका निखील वर्णवाल राजनीति तथा समाजिक क्षेत्रमा सक्रिय युवा हुन्।

उनी हरेक वर्ष साथीभाइसँग रमाईलो गरी नयाँ वर्ष मनाउँथे। तर कोभिड १९ को संक्रमण वीरगञ्जमा देखा परेपछि उनी लगायत उनको सम्पुर्ण परीवार त्रसित छ।

‘नयाँ वर्षमा एकदम नयाँ अनुभूति हुन्थ्यो। तर यो वर्ष कोरोना त्रासले नयाँ वर्षको रौनकलाई एकदम शून्य बनाएको छ’, उनले भने, ‘हिजो वीरगञ्जमा केही कोरोना संक्रमित भेटिएसँगै एकाएक भय र त्रास थपिएको छ।’

आज नयाँ वर्ष २०७७ को सूर्योदय भएसँगै यो पटक नौलो तरिकाले उनले नयाँ वर्ष मनाए।

बिहान उठ्नासाथ राष्ट्र, राष्ट्रसेवकहरु र कोरोनाबिरुद्धका योद्धाप्रति सम्मान प्रकट गर्दै राष्ट्र गान गाएर उनले नयाँ वर्षको सुरू गरे।

‘अब परिवारसँगै बसेर कोरोन बिरुद्धको यो लडाईमा सकेसम्म स्थानीय प्रशासनलाई सहयोग गरेर बस्ने छु। साथै सामाजिक सञ्जाल मार्फत नै एकअर्कालाई शुभकामना आदान प्रदान गरि रहेको छु।’

वीरगञ्जको मुख्य बजार माईस्थानदेखि मीना बजारमा आईतबारसम्म बिहान तोकिएको समयमा खाद्यान्न लागयत अन्य सामाग्री खरिद गर्ने मानिसहरु देखिन्थे । तर नयाँ वर्षमा सुरक्षार्थ खटिएका प्रहरीमात्र देखिए।

माईस्थान मन्दिर पछाडि रोड नं. ३ मा बसोबास गर्ने राजन श्रीवास्तव सक्रिय समाजिक अभियन्ता हुन्। हरेक विपद्को घडिमा उनी र उनका सहयोगी साथी सहयोगमा जट्छन्। तर अहिले ३ जना कोरोनो संक्रमित भेटिएपछि उनी नयाँ वर्षमा घर भित्रै छन्।

 ‘नयाँ वर्ष २०७७ आजको दिन पछिले भन्दा सामन्य रह्यो। कोरोना रोगको संक्रमणले गर्दा अलि डर र त्रास सबैमा हुने केही हद सम्म ठिक पनि हो, आखिर जीवन रहे पो अझ धेरै रमाइलो वा भोजभतेर गर्न सकिन्छ, कोरोनाले जीवन नै लग्यो भने केही गर्न सकिन्न’, उनले भने, ‘यसअघिको नयाँ वर्षमा साथीभाइ इस्टमित्र, परिवारनजनसँगको समाइलो भेटघाट, मन्दीर इत्यादि, र बजार घुमघाम, गेटटुगेदर गरि मनाउने गरिएको थियो। यो वर्ष प्रधानमन्त्रीको आदेश पालना गर्दै बिहान ८ बजे राष्ट्रिय गान गाएर थपडि बजाइयो। परिवारका सदस्यहरु सङ शुभकामना आदानप्रदान गरियो।’

आफ्नो घर टोल तिरको अवस्था सामान्य रहेको भन्दै उनले संक्रमणको खबर फैलिएसँगै सबै स्थानीय आफैं सतर्क भएको उनले जानकारी गराए।

‘घरटोल तिर अहिले अवस्था सामान्य छ। संक्रमणको खबर पाएपछि स्थानीय आफैं सतर्क छन्। प्रहरी पनि एकदम कडाइका साथ टोल टोलमा तैनाथ छन्। अन्य दिनको लकडाउन भन्दा आज बजार पनि एकदमै शान्त र एकान्त देखियो,’ उनले भने।

उता बजार भन्दा बाहिरका वडाहरुमा पनि अहिले स्थानीयवासी त्रसित छन्। बहुवरी २४ नं वडाका स्थानीय तथा सामाजिक कार्यमा सक्रिय युवा श्याम सरार्फलाई यसपालीको नयाँ वर्षको उल्लास भन्दा पनि कोरोनाको त्रास बढी भएको बताए।

 ‘देश भरीनै तिब्र गतिमा बढिरहेको कोरोना भाईरसबाट पर्सा पनि अछुतो रहेन। जसको प्रभाव नव वर्षमा पर्‍यो’, उनले भने, ‘सानैदेखि नयाँ वर्ष हर्षोल्लासका साथ चाडपर्व जस्तै मनान्थ्यो। तर यस वर्ष खल्लो महसुस गरेँ।’

साथीभाइको हुलमा बिभिन्न ठाउँमा पिकनिक रमाईलो गर्नको सट्टा यस वर्ष आफ्नै घरपरिवारसँग सिमित श्रोत साधनमा नयाँ वर्ष मनाएको उनले बताए।

‘न कसैको घर गएँ, न कसैलाई आफ्नो घर बोलाएँ। दिन दिनै बढदै गएको प्रकोपसँगै हामी पनि झनझन सचेत भईरहेका छौ’, उनले भने, ‘सरकारद्वारा लगाईएको लकडाउनको पूर्णरूपमा पालना गर्दै हाम्रो गाउँमा नचिनेका व्यक्तिलाई प्रवेश निषेध गरी सोसल मिडियाको सहयोगमा बिभिन्न जनचेतना मुलक कार्यहरू गर्दैछौ।’

संक्रमित फेला पर्नु भन्दा पहिले लकडाउनको समयमा पनि मानिसहरू प्रशासनको कुरा अटेर गरेर घर बाहिर निस्कन्थे तर अहिले आफै सचेत भएका उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-13 22:36:50

प्रतिकृया दिनुहोस्