कोरोना भाइरस: 'जीटुजी'बाट नेपाल ल्याइने विभिन्न स्वास्थ्य सामानको सूचीले पायो अन्तिम रूप

नेपाल सरकारले कोरोनाभाइरस सङ्क्रमण रोकथामका निम्ति विदेशबाट खरिद गरेर ल्याउने औषधी र स्वास्थ्य सामग्रीको सूची टुङ्गो लगाएको छ।

नेपाली सेनाले दुई छिमेकी देशहरू चीन र भारतबाट 'जीटुजी' विधिमार्फत् ती सामानहरू किनेर ल्याउने भएको हो।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार चीनबाट ७६ थरी र भारतबाट ५३ थरीका सामग्री ल्याइने अहिलेसम्मको निर्णय छ।चीनबाट स्वास्थ्य उपकरण लगायतका सामान र भारतबाट औषधी ल्याउने निचोड निकालिएको छ।

चीनबाट ल्याइने सामानहरूमा स्वास्थ्यकर्मीका निम्ति सुरक्षित पहिरन पीपीई, एन-९५ मास्क र पीसीआर जाँचको निम्ति आवश्यक रसायन आदि छन्।

सामान दिल्ली र ग्वान्जाओमा

नेपाली सेनाले विभिन्न पक्षसँगको परामर्शमा बनाएको सूची रक्षा मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयले स्वीकृत गरिसकेको छ।

अब त्यो परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित देशमा पठाइने बताइएको छ।

ती सामान भारतले दिल्लीस्थित नेपाली राजदूतावासमा र चीनले ग्वान्जाओमा नेपाललाई हस्तान्तरण गर्ने कुरा दुवै देशका अधिकारीहरूले जानकारी गराएका छन्।

सैनिक प्रवक्ता पाण्डेले भने, "त्यसको भुक्तानी कहाँ र कसरी गर्ने तथा सामान कसरी ल्याउने भन्नेबारे सरकारको निर्णय आवश्यक छ। त्यसकै निम्ति छलफल भइरहेको छ।"

'जीटुजी' गर्दा कुनै बिचौलिया वा मध्यस्थकर्ता नराख्ने नेपालको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ। त्यसैअनुसार उसले आफ्नो वाणिज्य विभागकै कर्मचारीलाई नेपालको निम्ति काम गर्ने जिम्मेवारी दिएको जानकारी नेपाली अधिकारीहरूलाई चीनले गराएको छ।

प्रकाशित मिति: : 2020-04-15 20:39:10

प्रतिकृया दिनुहोस्