अमेरिकामा काेराेनाकाे लक्षणबाट बाहिरिएकी जया भन्छिन्–‘आत्तिनु र डराउनु पर्दैन’ (अडियाे)

अमेरिका कोरोना संक्रमणको सबैभन्दा प्रभावित देश हो, यहाँ विश्वको सबैभन्दा बढी मानिसले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या पनि कहाली लाग्दो छ। 

संसारभरिको मानिसका लागि स्वर्ग मानिने न्युयोर्क शहर अहिले कोरोनाकै कारण कुरुप बनेको छ। यही शहरमा बसेर कोरोनाकाे लक्षणविरूद्ध लडेकी नेपाली चेली जया पाण्डेले विजय प्राप्त गरेकी छिन्। 

कोरोना संक्रमणको कारण विदेशमा बसोबास गर्ने १४ नेपालीले ज्यान गुमाइसकेका छन्, जसमा अमेरिकामा मात्र ५ जनाको निधन भएको छ। जया न्युयोर्कमा बसोबास गर्ने केही नेपालीमध्ये एक हुन्, जसले कोरोनाको लक्षणलाई भर्खरै जितेकी छिन्। 

सन् २००५ मा अमेरिका प्रवेश गरेकी जयाले कोरोनाको संक्रमणलाई घरमै उपचार गरेर निको पारेकी हुन्। उनी क्विन्सको ओजन पार्कस्थित साउथ रिचमण्डहिलमा बसोबास गर्छिन। उनका दुई छोरी एक छोरा छन्। 

न्युयोर्कस्थित ‘डेभलपमेन्ट अफ डिसेवेलिटिज सेन्टर’ मा काम गर्ने उनलाई गत मार्च २१ मा संक्रमणले समातेको थियो। उनी त्यो दिन घरको खानेकुरा किन्न नजिकैको स्टोर गएकी थिइन। भोलिपल्ट बिहानदेखि उनलाई सामान्य रुघा लाग्न सुरु भएको थियो। 

सुरुमा त उनले मौसमको फेरबदलले रुघा लाग्यो होला भन्ने सोचेकी थिइन तर एक्कासी जिउ बेस्सरी दुख्न थाल्यो। 

जया अहिले त्यो कुरा सम्झदा भयभित हुन्छिन्। भन्छिन्–‘मैले आजसम्म त्यस्तो अनुभव गरेकी थिइन। शरीरको कोषकोष नराम्ररी दुख्यो। ज्वरो बढेर आयो। नाकबाट खानेकुराको गन्ध हराउन थाल्यो।’ उनले हत्तोत्साही हुँदै डाक्टरलाई फोन गरेकी थिइन। 

डाक्टरले केही मिनेट उनको कुरा सुनेपछि निश्कर्ष निकाल्यो, ‘तिमीलाई कोरोना भएको छ। अस्पतालमा थुप्रै चाँप छ। आइरहनु पर्दैन। घरमा आइसोलेसनमा बस।३ दिनमा तिम्रो अवस्था कमजोर भयो भने सम्पर्क गर्नु हामी लिन आउँछौं।’

यो सुनेपछि उनको मुटुबाट हंस उडे झै भयो। अतालिइन र रुँन थालिन। घरमा प्रेसर र सुगरका ७८ वर्षीय ससुरा र ७० वर्षकी सासु अनि प्रेसरकै बिरामी श्रीमान। बाच्ने आशा छोडिसकेकी जयालाई कोरोनाविरूद्ध लड्न घरपरिवारले संघाउँदैन कि भन्ने कत्रो चिन्ता थियो। 

आफ्नो कारण परिवारका अन्य सदस्य पनि कमजोर हुने ठानी उनले मुटु दह्रो बनाइन्। ट्वालेटमा भएका सबै पुराना समान फ्याकिदिइन्। र छुट्टै कोठामा बस्न थालिन । ‘सेल्फ आइसोलेसन’ मा बस्दा उनले परिवारसँगको दूरी ६ फिट बनाएकी थिइन र उनी परिवारसँग आवश्यकता अनुसार मास्क लगाएर कुरा गर्थिन्। संक्रमण भएर एक्लै बस्दा उनलाई छोरीले ढोका बाहिरबाट भन्ने गर्थिन्–‘डन्ट वरी मामु यु क्यान फाईट विथ कोरोना।’

 कोरोनाविरूद्ध उनको लडाईंमा पुरै परिवारले साथ दियो। उनको फ्लाटमा पुरै परिवारको लागि एउटा मात्र ट्वाईलेट थियो। उनी आफू ट्वाईलेट जानासाथ एकदमै राम्रोसँग सफा गर्थिन। 

भन्छिन्–‘कोरोनामाथि विजय पाउन आफूभित्रको मनोवल कमजोर बनाउन हुन्न। यसलाई समान्य रुपमा लिएर आफूलाई सकेसम्म रमाईलो वातावरणमा भुलाउने र घरायसी उपचारमा ध्यान केन्द्रित गर्ने हो भने सुरुकै अवस्थामा संक्रमणलाई जित्न सकिन्छ।’

उनले नेपाली भएको हुनाले आफूलाई आइसोलेसनमा बस्न सहज भएको बताइन्। ‘नेपालको संस्कृतिअनुसार सुत्केरी हुँदा, मानिस मर्दा आईसोलेसनमा बस्ने प्रचलन छ। जसले गर्दा म मानसिक रूपमा परिवारसँग अलग भएर बस्न तयार भइसकेको थिए। अर्को कुरा नेपालमा पाईने ज्वानो, बिरेनुन, बेसार र टिमुर जस्ता प्राकृतिक जडिबुटिले मेरो रोग निको पार्न सहयोग गर्यो,’ उनले भनिन्। 

 जयाले अमेरिकी डाक्टरले पनि १० मिनेटमा एकपटक तातोपानी पिउन सल्लाह दिएको बताइन्। 

उनलाई कोरोना संक्रमणको ३ दिनसम्म जिउ दुख्ने, अत्याधिक ज्वरो आउने अनि खानेकुराको स्वादनै नहुने भएको थियो। तर, घरेलु जडिबुटि र ज्वरो निको गर्ने समान्य टायनोनेल नामक औषधिको प्रभावपछि खानेकुरामा रुचि बढ्न थालेको बताइन्। 

‘डाक्टरलाई सम्पर्क गरे। अब तिमि खतरा मुक्त छौं। १४ दिन आइसोलेसनमै बस भन्यो। विस्तारै शरीर दुख्न अनि ज्वरो आउन कम भयो,’ उनले भनिन्–‘३ दिनपछि घरमा ज्वानोको बासना यति मिठोसँग आयो,अनि शरीर चङ्गा अनुभव गरे।’

जयालाई कोरोना संक्रमण भएको २२ दिन कटिसकेको छ। उनी यति बेला पूर्ण रूपमा स्वस्थ्य छिन्। उनको सल्लाह छ–‘कोरोनासँग जित्नको लागि मैले अपनाएको शैली तपाईलाई पनि काम लाग्न सक्छ। त्यसैले संक्रमण भयो भन्दैमा आत्तिनु र डराउनु पर्दैन।’
 

प्रकाशित मिति: : 2020-04-18 07:16:00

प्रतिकृया दिनुहोस्