काठमाडौँमा ट्रकमै सुत्नुपर्थ्यो, अहिले हिँडेरै जसोतसो घर आइपुगेँ

दशरथ घिमिरे 

प्रदीप श्रेष्ठ शुक्रबार बिहान मात्रै काठमाडौँबाट घर आइपुगेका छन्। परिवारसँग भेट हुन पाउँदा उनी खुसी छन्। उनका बुवा, आमा, श्रीमती र छोराछोरी पनि हर्षित छन्।

उनी काठमाडौँबाट आउँदै गर्दा भूमहीमा अलपत्र परेको जानकारी आएपछि बुझ्न टेलिफोन गरेको थिएँ। तर, उनी शुक्रबार बिहान घर आइपुगेका रहेछन्। ‘म अहिले घरमा छु’, उनले भने– ‘म घरमा पुग्दा मेरो बाटो कुरेर बस्नुभएका बुवा, आमा, श्रीमती र छोरा छोरीमा खुसी देखेँ। म पनि खुसी भएँ।’

उनी तीन दिनअघि काठमाडौँबाट दाङका लागि हिँडेका थिए। वैशाख ३ गतेदेखि लकडाउन थपिएपछि उनको काठमाडौँ बसाइ झनै छोट्टियो। ‘ट्रक चलाउने काम गर्छु। होटलमा खाने, गाडीमा सुत्ने गरेँ’, उनले भने– ‘तीन गते लकडाउन फेरि थपियो। अनि घर जान्छु भनेर हिडेँ।’ उनी काठमाडौँमा ट्रकमै सुत्ने गर्थे।

काठमाडौँपार गर्न उनलाई निकै सकस भयो। धेरै पैदल हिंडे। बाटोमा जे पाउँछ, त्यही साधनमा चढे। ट्रकमा चढ्ने, झर्ने चलिरह्यो। बाटोमा हिँड्दा धेरै दयालु मान्छे भेटेँ। ‘भोकभोकै हुँदा खान खुवाउने मानिस भेटाएँ, प्यास लाग्दा पानी खुवाउने मानिस भेटाएँ’, उनले सम्झे, ‘बाटोमा हुँदा जति थकाइ लागे पनि सहयोगी मानिस भेट्दा त्यो थकाइ भुलाइयो।’

लकडाउनमा हिँड्न हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि उनी हिँडे। ‘ड्राइभर हुँ। गाडी चलाउछु। खुल्ला कि भनेर बसियो। होटल पनि बन्द भयो। गाडी साहुले पैसा पठाउन पनि सकेनन्। भएको पनि सकियो’, उनले भने– ‘गाडीमा सुत्ने, होटलमा खाने गरिरहेको थिएँ। तीन गतेदेखि लकडाउन थपिएपछि काँ खाने काँ बस्ने भयो। अनि जे होला होला भनेर हिंडेँ।’

पूर्व पश्चिम राजमार्गमा दैनिक एक हजार भन्दा बढी मानिस पैदल हिँडिरहेका छन्।

 

प्रकाशित मिति: : 2020-04-18 08:42:19

प्रतिकृया दिनुहोस्