कोभिड–१९ रोक्न महानगरमा स्यानिटाइजर टनेल

गण्डकी प्रदेशमै पहिलोपटक पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन सावुन पानीले हात धोयर स्यानिटाइजर लगाउनुपर्ने भनिदै आएकामा अब भने प्रत्येक व्यक्तिको पूरै शरीरै स्यानिटाइजेसन टनेलबाट सङ्क्रमणमुक्त हुने भएको हो ।

महानगरको प्रवेशद्वारमा नै राखिएको उक्त टनेलमा छिरिसकेपछि सात सेकेण्ड समयावधिमा नै शरीर पूरै स्यानिटाइजेसन हुने भएको नेपाल इञ्जिनीरिङ एशोसिएसन गण्डकीका अध्यक्ष आर्किटेक इञ्जिनीयर बाबुराम भण्डारीले जानकारी दिए। “यो टनेलको प्रयोगसँगै महानगरमा प्रवेश प्रत्येक व्यक्तिको पूरै शरीर स्यानिटाइजेसन हुनेछ”, उनले भने, “महामारिकै रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यो प्रविधि उपयोगी बन्ने विश्वास लिएका छौँ ।”

उनका अनुसार गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि गण्डकी प्रदेश तथा पोखराका नाकामा यस्तो स्यानिटाइजर टनेल आवश्यक रहेको बताउँदै उनले एउटा स्यानिटाइजर टनेल बनाउँदा रु एक लाख ५० हजार मूल्य बराबरका सामग्री खर्च भएको जानकारी दिए।

“एक लिटर स्यानिटाइजरले १७ जनाको शरीरलाई स्यानिटाइज गर्न सकिन्छ’, अध्यक्ष भण्डारीले भने, ‘प्रतिव्यक्ति होलबडी स्यानिटाइजर गर्दा रु तीनदेखि चार बराबरको खर्च हुन्छ।’ पोखरा महानगरपालिका र नेपाल इञ्जिनीयरिङ एशोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार एक समारोहका बीच शुभारम्भ गरे।
 
कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै उनले सधै लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोना भाइरस नियन्त्रण गर्नुपर्ने आवश्यकता औल्याए। सेवाग्रहीको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालय, डिपार्टमेन्टल स्टोर्स बैंकलगायतका विभिन्न स्थानमा स्वचालित स्यानिटाइजर टनेल आवश्यक रहेको उल्लेख गर्दै उनले कोरोनाले अहिले हाम्रो दैनिकीलाई मात्र असहज बनाए पनि यसले दीर्घकालीनरूपमा पार्ने आर्थिक असरलाई पनि बेलैमा ‘मेकअप’ गर्ने योजनासहित काम गर्ने प्रदेश सरकारको तयारी भइरहेको बताए।

प्रदेशका मुख्य प्रवेशद्वार पुथ्वीराजमार्गको आँबुखैरेनी, सिद्धार्थराजमार्गको राम्दी, पूर्वपश्चिम राजमार्गको बर्दघाटलगायत स्थानमा प्रदेश सरकारले यस्ता प्रविधि जडान गर्न पहल गर्ने बताउँदै मुख्यमन्त्री गुरुङले भने, “गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने मुख्य स्थान कोत्रे र छोरेपाटनलगायत प्रवेशद्वारमा महानगरले यन्त्रजडित उपकरणको व्यवस्था गर्नुपर्दछ ।”

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले इञ्जिनीयरहरुको अथक प्रयासपश्चात निर्माण गरिएको स्यानिटाइजर टनेल प्रविधिलाई पोखराको ब्राण्ड बनाउनुपर्नेमा जोड दिए। कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि स्यानिटाइजर टनेल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उहाँले यस्ता प्रविधि विश्वसनीय एवं सर्वसुलभरूपमा उत्पादन गर्न प्राविधिकलाई लाग्न आग्रह गर्दै महानगरबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

नेपाल इञ्जिनीयरिङ एशोसिएसन गण्डकीका उपाध्यक्ष ध्रुव भट्टराईले स्यानिटाइजर टनेलको माग आएको खण्डमा प्राविधिक सहयोग निःशुल्क गर्न एनइए तयार रहेको बताउँदै प्रगतिशील इञ्जिनीयरिङ एशोसिएसन नेपालले समेत एक थान स्यानिटाइजर टनेल निर्माण गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-19 15:13:00

प्रतिकृया दिनुहोस्