त्रासका बीच काेटेश्वरमा घर फर्किनेकाे लर्काे (फाेटाे फिचर)

सरकारले चैत १२ गतेदेखि लागु गरेकाे ‘लकडाउन’ काे बेवास्था गर्दै रामेछापका एक दम्पति म‌गलबार साँझ साढे ६ बजे आफ्नाे ६ महिनाको बालक काखमा च्यापि काेटेश्बरकाे जडिबुटी पुगे। उनीहरुकाे त्याे रहर थिएन। बाध्यता थियाे। यो दम्पति नारायणथानबाट ५ घण्टा लामाे पैदल यात्रा छिचाेल्दै जडिबुटी पुगेकाे थियाे।

झमक्क साँझ परेकाे अवस्थामा घर फर्किने गाडी पाउने नपाउने ठेगान थिएन। शहरमा बस्न गाह्रो भएपछि उनीहरु ठूलै दुर्साहस गरेर घर फर्किएका थिए। नारायणथानबाट आउँदै गर्दा बाटोमा असिना पानीले पनि उनीहरुलाई भेट्याे। तर, आमाले आफ्नाे दुधे बालकलाई साडिले छाेपेर जडिबुटीसम्म ल्याइपुर्याइन्। 

जडिबुटी आएपछि उनले आफ्नाे बच्चातर्फ हेर्दै भनिन्, ‘बल्ल ढुक्क भए।’ 

मंगलबार जडिबुटी र कोटेश्वर क्षेत्रमा नारायणथानबाट आएकाे याे जाेडी मात्र हाेइन, सरकारी आदेशकाे अवज्ञा गर्दै हजारौ जनता घर जान बाटाेमा निस्किए।

दैनिक राेजगारी गरेर खाने नेपालीकाे दैनिकी काठमाडाैंमा कष्टकर बन्न थालेपछि र सरकारले घाेषणा गरेकाे राहतमा अनियमितता हुन थालेपछि आहत भएका मजदुर तथा विधार्थीहरु घर फर्किन विवश भएका हुन्। उनीहरुलाई लिन गाउँबाटै बसहरु आएका थिए। 

रामेछाप जिल्लाकै एक बृद्ध इस्टकोटमा सजिएका थिए। उनकाे अनुहारमा घर फर्किन पाएकाेमा बेग्लै खुसी थियाे। भन्दैथिए, ‘कति भो घर जान नपाएकाे। अब त कसो नपुगिएला।’ उनी यसाे भन्दा आफ्नाे टोपी मिलाइरहेका थिए।

मंगलबार टाउकोमा ठूलो झोला र हातमा नानीलाई डोर्‍याउँदै गाउँ जान हिँडेका सयाैं मानिसकाे लस्कर काेटेश्वर क्षेत्रमा देखिन्थ्याे। गाउँ जान कोही कलंकीबाट त कोही चापागाउँबाट, कोही बालाजुबाट पैदल सकिनसकी यहाँसम्म आइपुगेका थिए। 

यो भीडमा देखिने प्राय: महिला र बच्चा बढी थिए। सबैलाई हतार थियाे। आफ्नो गाडी खोज्न कोही यता दाैडिरहेका थिए। काेही उता।  कति जना आफन्त नआइपुगेकोले फोनमा व्यस्त देखिन्थे। 

मंगलबार दिउँसाेदेखि असिना पानी परेकाले बस चढ्न आउनेले थप सास्ती भाेग्नु पर्याे। यस्तै भीडमा दाेलखाकी अनिता जिरेल पनि भेटिइन्। उनी बालाजुमा रहेकाे आफ्नाे ठूलीआमाकाे घरबाट हिँड्दै काेटेश्वर पुगेकी थिइन। उनकाे घर भएकाे गौरीशंकर गाउँपालिकाले काठमाडाैंमा बिचल्लीमा परेका गाउँलेलाई घर फर्काउने अभियान स्वरुप यातायातको व्यवस्था गरेको सुनेपछि उनी दिउँसाे नै बालाजुबाट हिँडेकी हुन्। 

उनी जडिबुटीमा रहेकाे करिब १२ वटा पूर्व जाने तयारीमा रहेकाे बसहरुमा आफ्नाे गाउँपालिकाले पठाएकाे गाडी खाेजिरहेकी थिइन। भीडमा एकातर्फ उनलाई कोरोनाको त्रास त छदैथियो, अर्काेतर्फ घर फर्किने आशाका बीच उनकाे अनुहार उज्यालाे देखिन्थ्याे।

‘बुवालाई पनि सँगै लैजानु छ,’ गाडी खाेज्ने भीडमा भेटिएकी अनिताले भनिन्। उनकाे बुवा गौरीशंकर गाउँपालिकामा लुगा पसल चलाएर बस्छन्। ‘भीडमा रिस्क छदैछ तर बुवा घर जाने भनेर कर गर्नुहुन्छ। त्यसैले नगैनहुने अवस्था आयो,’ उनले भनिन्। म‌ंगलबार मात्र यहाँबाट दुई हजारको हाराहारीमा मानिसहरुले काठमाडाैं छाेडेका थिए। 

प्रकाशित मिति: : 2020-04-22 06:15:00

प्रतिकृया दिनुहोस्