अमेरिकन आइडलको टप १० मा दिवेश

बिएल संवाददाता

न्युयाेर्क

नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन्।

 जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन्।अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए। त्यो क्रम अहिलेसम्म जारी छ। आइडलमा उच्च फ्यान फलोइङ भएका दिवेशलाई उपाधिकै एक दावेदारका रुपमा हेर्न थालिएको छ। 

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन्।

‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ उनले लेखेका छन्, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ। अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईसम्म पु¥याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु। मलाई भोट दिनुहुने सबैप्रति आभारी छु।’

काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी सन् २०१४ मा अमेरिका गएका थिए।  उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो।

प्रकाशित मिति: : 2020-05-04 08:09:46

प्रतिकृया दिनुहोस्