नारायणी अस्पताललाई साबिक सरह आम उपचारमा ल्याउन आग्रह

सांसद प्रदिप यादवले नारायणी अस्पताललाई साबिक सरह आम उपचारमा ल्याउन स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएका छन् । 

सांसद उमाशंकर अगरियासँगै मन्लायल पुगेका सांसद यादवले वीरगञ्ज क्षेत्रमा स्वास्थ्य सेवाको मुख्य आधार रहेको नारायणीलाई कोविड उपचार केन्द्र बनाइएपछि बिभिन्न समस्या सिर्जना भएकोले सो अस्पताललाई तत्काल त्यहाँबाट हटाउन आग्रह गरेका छन्।

‘प्रदेश २ मा कोरोना उपचारको निम्ति ४ वटा अस्पताल रहेका छन, उपचारको लागि भने एकमात्र वीरगञ्जको नारायणी अस्पताल प्रयोगमा छ। अस्थायी राजधानी जनकपुरसहित अन्यत्र तोकिएको कोरोना अस्पताल छ, तर उपचार सेवा छैन,’ स्वास्थ्यमन्त्री  ढकाललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘मुख्य शहरको रुपमा रहेको अस्पताल अहिले प्रदेश कै कोरोना संक्रमितहरुको उपचारको चाप खेपिरहेको छ । यसो हुँदा उक्त नियमित चेकजाँच गराउन आउने गरेका पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका सर्वसाधारणहरुले सास्ति खेप्नु परेको छ।’

नारायणी अस्पतालमा आउने आम बिरामी अहिले अन्यत्र जाँदा अनुचित आर्थिक दोहनमा परिरहेको र गरिब तथा बिपन्नको लागि स्वास्थ्य सेवाको आधार लगभग बन्द भएको अवस्था रहेको उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले कोरोना अस्पताल नारायणीबाट सारेर कहाँ लैजान सकिन्छ भन्ने बिषयमा दुई वटा बिकल्प सुझाव स्वरुप मन्त्री ढकाललाई दिएका छन् । 
 
एक, अस्पतालको मातहतमा सडकभन्दा पश्चिममा रहेको प्रशासनिक भवनभन्दा उत्तर अँखा बिभागको भवन (कोविड उपचार केन्द्र)को लागि प्रयोगमा ल्याउन सकिने विकल्प देखिएको ।

वा दोस्रोमा पर्सा, बारा र रौतहटको बीचमा पर्ने तथा सर्लाहीसम्मको बिरामीको लागि तुलनात्मक रूपमा नजिक पर्ने र स्तरीय सडकमार्ग जोडिएको वीरगञ्जभन्दा मात्र ११ किलोमिटर पूर्वमा रहेको सरकारद्वारा पुर्वघोषित ’कोरोना अस्पताल’मध्येको बारा जिल्लाको कलैया अस्पतालमा कोभिड–१९ को उपचार सेवा अबिलम्ब संचालनमा ल्याएर नारायणी अस्पताललाई साबिक सरह आम उपचारमा ल्याउन यादवले सुझावसहित माग उठाएका छन् ।

यस्तै उनले संक्रमितहरुको जाँच र उपचारको लागी अति आवश्यक रहेको र्‍यापिड डायग्ना ‘स्टिक टेस्ट (आर.डी.टी) किट र भाइरल ट्रान्सपोर्ट मेडीअम (भी.टी.एम) आवश्यक भएकोले तत्कालै उपलब्ध गराउन मागसमेत मन्त्रालयसँग गरेका छन् ।

प्रकाशित मिति: : 2020-05-05 15:39:49

प्रतिकृया दिनुहोस्