रोहिंग्या शरणार्थी शिविरमा देखियो कोरोना संक्रमण, बंगलादेश सतर्क

बंगलादेशमा रहेको संसारको सबभन्दा ठूलो शरणार्थी शिविरमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यहाँको संक्रमणले बंगलादेशलाई तर्साएको छ किनकि फैलिएपछि त्यसलाई रोक्न निकै मुश्किल पर्ने देखिन्छ । 

दश लाख शरणार्थीहरू बस्ने शिविरमा कोरोनाका दुई केस देखिएका छन् । 

रोहिंग्या रिफ्युजी रिप्याट्रिएसन कमिसनमा आबद्ध एक चिकित्सकका अनुसार, कक्स बजारमा रहेका शरणार्थीहरूमा कोभिड–१९ पुष्टि भएको हो । 

संक्रमितहरूलाई एकान्तवासमा राखेर उपचार गराइएको अधिकारीहरूले बताएका छन् । 

शिविरमा मार्च १४ देखि नै लकडाउन लगाइएको छ ।

उता इजिप्टमा पनि शरणार्थीहरूको ठूलो संख्या छ । बढी खतरामा रहेका १६ सय मानिसलाई अन्य देशमा सारिने आशा अधिकारीहरूले गरेका छन् । 

इजिप्टको लेस्बोस टापुमा दुई प्रवासीलाई कोरोना पोजिटिभ पाइएको छ । दुवैलाई एकान्तवासमा राखिएको छ । 

सहायता एजेन्सीहरूले लामो समयदेखि शरणार्थी शिविरहरूका विषयमा चेतावनी जारी गर्दै आएका छन् । 

रोहिंग्या शरणार्थी शिविरका विषयमा पनि जोखिमको चेतावनी दिइँदै आएको थियो । 

कक्स बजारका परिस्थितिहरू कोरोनाभाइरस फैलिनका लागि उपयुक्त छन् । त्यहाँ साँघुरो ठाउँमा भीडभाड छ अनि सरसफाइ र सफा पानी सीमित छ । सामाजिक दूरी अपनाउन त्यहाँ सम्भव छैन । 

बंगलादेशमा सेभ द चिल्ड्रेनका निर्देशक डा शमीम जहाँका अनुसार, ‘कोरोनाभाइरस संसारको सबभन्दा ठूलो शरणार्थी शिविरमा प्रवेश गरिसकेको अवस्थामा हजारौं मानिसको ज्यान जानसक्ने हामीले देखेका छौं । यो महाव्याधिले बंगलादेशलाई दशकौं पछाडि धकेल्न सक्छ ।’

प्रकाशित मिति: : 2020-05-15 13:10:06

प्रतिकृया दिनुहोस्