जुद्धसमशेरपछि विपत्‌हरूमा वैदेशिक सहयोग खोज्दा राहत पीडितकहाँ नपुग्ने र दुरुपयोग हुने गरेको अनुभव छ : हिमालय समशेर राणा (भिडियाे)

जुद्धसमशेरपछि विपत्‌हरूमा वैदेशिक सहयोग खोज्दा राहत पीडितकहाँ नपुग्ने र दुरुपयोग हुने गरेको अनुभव छ : हिमालय समशेर राणा (भिडियाे)

हिमालयसमशेर राणा, ९३, नागरिक समाजका एक जना प्रबुद्ध नागरिक हुन् । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर पनि हुन् उनी । सुधारवादी राणा प्रधानमन्त्री देवसमशेरका नाति हिमालयले नेपालको अर्थसचिव भएर पनि काम गरे । 

विसं १९९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धसमशेरले गरेको राहत र उद्दारबारे नजिकका जानकार उनले नेपालको पटक–पटकका विपत् देखेका छन् । ती विपत झेल्न देशको उच्च तहबाट काम पनि गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि अप्ठेरोमा परेको विश्व अर्थतन्त्र र त्यसको नेपालमा पर्नसक्ने प्रभावबारे माधव ढुङ्गेलराजेन्द्र कुँवरले गरेको संवाद :

कोरोना भाइरसको विश्वव्यापी महामारीपछि नेपाली अर्थतन्त्र कत्तिको चिन्ताजनक अवस्थामा देख्नुहुन्छ?

बहुुतै चिन्ताजनक अवस्था छ । हाम्रो अर्थतन्त्र नै रेमिटेन्सबाट फूर्तिसाथ चलिरहेको छ । रेमिटेन्स (विदेशमा काम गर्ने नेपालीले कमाएर पठाएको पैसा) नहुँदा पहिले आफैँ कृषिबाट जे उत्पादन भयो, त्यही खान्थ्यौँ । कोदो उम्रने ठाउँमा कोदो खान्थे । धान उत्पादक किसानले चामल खान्थे । एकदमै निर्वाहमुखी अर्थतन्त्र चलिराखेको थियो । 

पछि रेमटेन्सबाट पैसा आउन थाल्यो । चाइनाबाट पनि सस्तो मूल्यमा सामान आउन थाल्यो । अहिले मलाई यसो हेर्दा लाग्छ– नेपाललाई न्यून आय भएको देश भनेर कसरी भन्ने ? काठमाडौंमा ड्राइभिङ गरेर हिँड्यो भने सबै मान्छे राम्रो लुगा लगाएका छन् । भाटभटेनीमा गयो भने चकाचक मान्छे ‘वेल ड्रेस’ छ । 

मलाई लाग्छ– त्यो ‘आर्टिफिसियल’ (असुहाउँदो) भयो । मैले चार–पाँच वर्षदेखि भनिरहेको हो– कुनै बेला खाडी मुलुकहरुमा समस्या आयो भने यो रेमिटेन्स घट्नसक्छ भनेर । अहिले आएर कोरोना भाइरसले गर्दा यो अवस्था आयो । यसले साह्रै नै ठूलो असर परेको छ ।

नेपाललाई मात्र होइन, कोरोना भाइरसले विश्वलाई नै एकतिहाई गरीब बनाइदिएको छ । त्यसकारण त्यसको असर हामीकहाँ पर्ने भइगो ! 

यो दूरावस्थाबाट हाम्रो अर्थतन्त्रलाई कसरी जोगाउने ?

यो गम्भीर समस्या छ । ‘माइग्रेन्ट वर्कर्स’ (विदेश गएका कामदार) फर्केर आएपछि उनीहरुलाई रोजगारी के दिने ? रोजगारीको योजना छ कि छैन ? 
तलबै बाँड्न नसक्ने अवस्था त छैन । सबैले अलिकति पटुका र बेल्ट कसेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ। 

हामी चिन्ताजनक स्थितिमा छौँ । खानै नपाएर मर्ने अवस्थामा पनि जान सक्छौँ भनेर त्यसबाट जोगिन सरकारले अहिलेदेखि नै के गर्नुपर्छ ?

रेलको परियोजना रोक्नुपर्‍यो । प्राथमिकीकरण गरेर जानुपर्‍यो । बीचमा पुगेको परियोजनामा त लगानी गर्नैपर्‍यो । नयाँ–नयाँ परियोजनाको त कुरै छैन, पहिला–पहिला छानिएका परियोजनालाई पनि ‘डिफल्ट’ (पूर्वनिर्धारण) गर्नुपर्‍यो । 

अहिले ‘कन्जुमर सोसाइटी’ भइसकेको हुनाले पहिलेको जस्तो निर्वाहमुखी उपभोगमा बाँच्न त मान्छेले सक्दैन । युट्युब, टेलिभिजन, मोबाइलले गर्दा नेपाली पनि विकसित देशका मान्छेजस्तै भएर त्यही किसिमले बाँच्न खोज्छ । त्यही किसिमले खान खोज्छ । त्यही किसिमले रेष्टुरेन्ट जान खोज्छ । 

मान्छेले महसुस गर्नुपर्छ– देशभित्र जे स्रोत छ, त्यसैभित्रबाट एक–दुई वर्षलाई चलाउनुपर्छ । एक–दुई वर्षमा त विश्व अर्थतन्त्रमा फेरि सकारात्मक ‘टे«न्ड’ त आइहाल्छ नि ! 

सकारात्मक ‘टे्रन्डिङ’ आएन र कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिएन भने त विश्वमा नै साह्रै ठूलो समस्या आउँछ । त्यस्तो त नहोला । 

एक–डेढ वर्षमा सबै ठीक होला भनेर तपाईं आशावादी हुनुहुन्छ ?

पाँच–छ महिनामा खोप जरुर आउला । ‘फेटल’ (प्राणघातक) पनि छैन– कोरोना भाइरस । कोरोना भाइरस भएका मान्छे उपचार गरेर निको भइरहेका पनि छन् । वृद्धहरु, ज्यादै रोगीहरुलाई मात्र प्राणघातक भएको छ । 

त्यस कारण यसलाई सामना गर्न उपचार छैन । खोप निस्केको छैन । गर्नुपर्ने नै संक्रमित मानिसलाई ‘ट्र्याक’ गरेर ‘आइसोलेसन’ (एकान्त) मा राखेर उसबाट फैलिन नदिने हो । 

कोरोना भाइरस पाँच–छ महिनामा नियन्त्रणमा आउला । जस्तो कि, स्पेनमा मर्नसम्म मान्छे मरिसक्यो । अहिले आएर नियन्त्रणमा आयो । दक्षिण कोरियामा पनि धेरै ‘फेटिलिटी’ (विपत्ति) भयो, नियन्त्रणमा आयो । इटालीमा पनि त्यस्तै छ । चीनमा पनि नियन्त्रणमा आयो । 

त्यसरी एकचोटी ‘पिक’ (शिखर) मा आउने हुनाले यत्ति चिन्ता छ– शिखरमा नपुगोस् । शिखरमा पुग्न सय, दुई सय, तीन सय संक्रमित मान्छे आएर तिनले तीन–चार हजारलाई फैलाएपछि त्यसबाट १० हजारमा पुर्‍याउने ‘ट्रिकल डाउन’ असर नहोस् । मेरो आशा छ ।

हामी अप्ठेरोमा छौँ भन्ने सर्वसाधारण र सरकार दुवैले महसुस गर्नुपर्‍यो ?

कोरोना भाइरसको सामना गर्ने सफल विधि– ‘ट्र्याक’ गरेर सम्बन्धित मान्छेलाई ‘आइसोलेसन’ राख्ने उपचार गर्ने, मर्ने मर्छन् बाँच्ने बाँच्छन्, फैलन चाहिँ नदिने हो । त्यसो भएको हुनाले संक्रमित मान्छेको संख्या घट्दै गएपछि त्यो मुलुकमै कोरोना भाइरस नहुने पनि रहेछ । जस्तो, स्पेनमा अब छैन । दक्षिण कोरियामा पनि छैन । फेरि फाट्टफुट्ट दक्षिण कोरियामा पनि आयो । 

त्यस कारण मुख्य कुरा संक्रमित मान्छेलाई ‘ट्र्याक’ गरेर उसलाई उपचार गरिहाल्नुपर्‍यो । जहाँ संक्रमित मान्छे छन्, त्यहाँ सामाजिक दूरी राख्ने, साबुनले हात धुने यस्ता कुरा जो छन् । त्यो शिवाय केही उपाय नै छैन । 

विपतसँग जुध्ने हाम्रो शक्तिबारे तपाईंले झण्डै आठ दशकदेखि जानकार हुनुहुन्छ । पारिवारिक पृष्ठभूमिका हिसाबले ०९० सालको भुइँचालोपछि तत्कालीन प्रधानमन्त्री जुद्धसमशेरले विपत्पछि नेपालीलाई राहत दिएको पनि नजिकबाट देख्नुभएको छ । त्यसपछि देशले भोगेका बाढी र अरु विपत्को पनि साक्षी हुनुहुन्छ । अघि तपाईंले नै भन्नुभो– अहिलेको हाम्रो अर्थतन्त्र अलि ‘सुकुलगुण्डा’ शैलीको छ– उत्पादन गर्दैन, उपभोग गर्न सिपालु छ । यस्तो बेलामा विपत्पछि देशलाई उकास्न के गर्नुपर्ला ? 

म आफैँले पनि भोगेको छु– ०९० साल । नेपालीमा सहनशीलता छ । धैर्य छ । त्यसो भएको हुनाले म निराशावादी चाहिँ छैन । 

१९९० सालको महाभूकम्प, पछि–पछि गएका भूकम्प पनि व्यहोर्‍यौँ । हालसालै (०७२ साल) को भूकम्प पनि व्यहोर्‍यौँ । बाढीहरुलाई पनि व्यहोरेकै हो । अरु मुलुकमा जस्तो विपत आएपछि एकदमै आत्तिने, आन्दोलन गर्ने त्यस्तो मानसिकता हाम्रो समाजमा छैन । 

त्यसले गर्दा यो कोरोना भाइरसलाई पनि व्यहोरौँला जस्तो लाग्छ मलाई । तर, मलाई लाग्छ– सम्पूर्ण राजनीतिकर्मीदेखि लिएर नागरिक समाजका मान्छे, कर्मचारी सबैले सन्देश आम जनतामा पुर्‍याउनुपर्‍यो– ता कि कसैलाई कोरोना भाइरसको संक्रमणको शंका लाग्यो भने मलाई रोग ल्यायो भन्ने इन्जाम लाग्ला भनेर लुकाउने, लुकाउँदा लुकाउँदै अरुलाई सार्ने हुनु भएन ।  

सामना के गर्नुपर्छ भन्ने थाहा भइसक्यो– सबै आम नागरिकलाई । जुन–जुन तरिका अपनाएर चीनमा नियन्त्रणमा आयो, कोरियामा नियन्त्रण भयो । उत्तर कोरियाले पनि नियन्त्रण छ भनेको छ । 

जहाँ अनुशासित देश छ, त्यहाँ नियन्त्रणमा आएको छ । जहाँ लोकतान्त्रिक सरकार छ, बेलायत र अमेरिका सबभन्दा बढी त्यहीँ फैलियो । त्यस कारणले अनुशासन चाहिने रहेछ । के गर्नुपर्छ भन्ने व्यापक प्रचारप्रसार हुनुपर्‍यो । त्यसलाई अपनाउनुपर्‍यो । 

यो अप्ठेरो परिस्थितिमा आउनसक्ने आर्थिक संकटबाट उम्कन राजनीतिक नेतृत्वले के गर्नुपर्छ ? १९९० सालदेखि यसबीचमा आइपरेका विपत्तिका अनुभवका आधारमा भनिदिनुस् न ?

१९९० सालको भूकम्पपीडितलाई त त्यो बेलाको राणा शासनले एउटा अपवादका रुपमा राम्रो किसिमले समाधान गरेको हो । किनभने, त्यसमा सबै शासक–प्रशासकहरु सबै लागे । 

‘प्राइममिनिस्टर’ जुद्धसमशेरले आफ्नै ढुकुटीबाट कयौँ लाख दिए । बडा महारानीले कति लाख दिए । सबै प्रशासकहरुले चीफ सापदेखि लिएर बम्हसमशेरदेखि लिएर सारा त्यसमा उद्दार गर्न लागे । कतै विदेशबाट कुनै मद्दत नलिई यसमा सफल भएको हो । 

त्यो उदाहरण स्मरणीय छ तर त्यसपछिका विपतहरुमा चाहिँ वैदेशिक सहयोगबाट ‘डिल’ गर्न खोज्दा त्यसबाट फाइदा उठाउने, त्यसबाट आम्दानी गर्ने खासगरी पीडितहरुलाई सहायता नपुग्ने हाम्रो त्यस्तो अनुभव छ । 

त्यसबेला राणा–प्रशासनका उच्च तहले तलब पनि खाएन । अहिले हाम्रो राष्ट्रिय ढुकुटीको मुख्य भार भनेको तलबभत्ता हो । यसमा पनि सोच्नुपर्ने हुन्छ ?

अहिले कहाँबाट कसरी पैसा आएको हो ? यति विधि खर्च बढेको छ । यति धेरै पदहरु सिर्जना भएको छ । यति विधि सुविधा बढेको छ । त्यसलाई पुनर्विचार गर्नुपर्ने बेला आयो नि त ! सबैको तलब अलिकति १०÷१५ प्रतिशत कटौती गर्ने कुरा ठीक छ भन्ने अवस्था आयो जस्तो लाग्छ मलाई । 

‘रेमिट्यान्स’ ले जीवनशैलीदेखि देशको अर्थतन्त्रमा ठूलो असर पार्ने त त देखिइसकेको छ । त्यसबाहेक नेपाली अर्थतन्त्रलाई प्रभावित पार्ने अरु क्षेत्रहरु के हुन सक्छन् ?

अहिले जानेबुझेका मान्छे धेरै भइसके । पढेलेखेका मान्छे पनि नेपालमा धेरै भइसके । रेष्टुरेन्ट विजनेशमा नेपालले ठूलो प्रगति गरेको छ । 

अहिले नेपालका होटेलहरुमा अधिकांश ‘सेफ’ नेपाली नै थिए । विदेशबाट ल्याउनुपर्ने थिएन । भारत र विदेशमा पनि नेपालीले सेफ, वेटर भएर काम गरिरहेका थिए । त्यसमा अहिले चुकुल लागेको छ । पर्यटन क्षेत्र ध्वस्त नै भयो । 

उद्यमीहरु पनि पहिले–पहिलेको जस्तो दुई–तीन वटा घरानाको मात्र रहेनन् । पहिले गोल्छा, भाजुरत्न जस्ता केही मात्र उद्यमी थिए । धेरै जानेबुझेका मान्छे उद्यमी भएर आइसकेका छन् । तिनीहरुलाई सरकारले सहयोग गर्नुपर्‍यो । अहिले उनीहरुमाथि परेको मारलाई मनन् गरेर उनीहरुलाई सुविधा दिनुपर्‍यो । तिर्नुपर्ने कर छुट दिनुपर्‍यो । पाउनुपर्ने ऋणहरु उपलब्ध गराइदिनुपर्‍यो । औद्योगिक गतिविधि सुचारु गर्नुपर्‍यो ता कि आन्तरिक माग पनि पूरा होस् । सकेदेखि निर्यात पनि गरोस् । 

निर्यात गर्न बहुतै गाह्रो छ । अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धी छ । बहुतै राम्रो प्रविधिले उत्पादन गरेको वस्तु सस्तो पर्छ । पुरानो प्रविधिले उत्पादन गरेको मालको गुणस्तर पनि राम्रो हुँदैन । लागत पनि उच्च हुन्छ । निर्यात गर्न गाह्रो छ । आन्तरिक माग मात्रै पूरा भयो भने पनि सजिलो हुन्छ । अब पटुका कस्ने बेला आयो ।

यो पनि हेर्नुहोस्– 

राजा महेन्द्रका दुई गल्ती– कालापानी मिचाइ बेवास्ता र हतियार भारतसँग सल्लाह गरेर मात्र झिकाउने प्रतिबद्धता : हिमालय समशेर राणा (भिडियो)

विदेशबाट नेपाल ल्याइने नागरिकको व्यवस्थापन् यसरी हुन्छ- प्रमुख जिल्ला अधिकारी, काठमाडौं (भिडियो अन्तर्वार्ता)

नेपालको नयाँ नक्सा जारी, ‘प्रधानमन्त्री ओलीको सिंह चढेर सवारी ?’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावलको बिठ्याइँ !

 

 

प्रकाशित मिति: May 21, 2020 08:14:07

प्रतिक्रिया दिनुहोस