देशबासीका नाममा मोदीकाे चिठ्ठी– कोरोनाविरूद्ध लडाई लामो छ, हामी जीतको बाटोमा छौं

बिएल संवाददाता

नयाँदिल्ली

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा बनेको सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष शनिबार पूरा भएको छ। यस अवसरमा उनले एक चिठ्ठीमार्फत आफ्ना देशवासी कोविड १९ विरूद्धको लडाईमा धैर्यता कायम राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्री मोदीले आउँदो दिनमा कोरोना भाइरसविरूद्धको लडाईमा लामो भएकाेले आफ्ना देशवासीलाई धैर्य धारण गर्न आग्रह गरेका हुन्।  

चिठ्ठीको सुरुवातमा उनले लेखेका छन् ‘कोरोना भाइरसविरूद्धको लडाई लामो छ र हामी जीतको बाटोमा छौं। यसका लागि देशवासीलाई सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्न अपील गर्दछु।’

उनले कोरोना महामारीपछिको आर्थिक संकटको सामनाका लागि भारत तयार रहेको पनि बताएका छन्। उनले १३० करोड भारतीयको वर्तमान र भविष्य कुनै बिपतले तय गर्न नसक्ने बताएका छन्।

उनले दशकौँपछि भारतमा पूर्ण बहुमतको कुनै सरकारलाई लगातार दोस्रोपटक जनताले जिम्मेवारी सुम्पेकोमा खुशी प्रकट गरेका छन्।

‘दशकौँपछि भारतमा पूर्ण बहुमतको कुनै सरकारलाई लगातार दोस्रोपटक जनताले जिम्मेवारी सुम्पे। यो भारतीय इतिहासको स्वर्णिम अध्याय हो,’उनले लेखेका छन्।

मोदीले चिठ्ठीमा वर्ष २०१४ मा जनताले देशको नीति र रीति बदल्न भोट दिएको बताएका छन्।

देशले व्यवस्था परिवर्तन र भ्रष्टाचारको दलदलबाट बाहिर निस्कन पाएको उल्लेख गर्दै मोदीले भनेका छन्, ‘ती पाँच वर्षमा देशले गरिबहरुको सहज जीवनयापनका लागि शासन प्रणाली परिवर्तन भइरहेको देख्यो।’

मोदीले पहिलो पाँच वर्षे कार्यकाल देशको अनेकौँ आवश्यकता पूर्तिका लागि समर्पित रहेको पनि बताए।

गरिबको बैंक खाता, निशुल्क ग्यास कनेक्सन, निशुल्क बिजुली कनेक्सन, शौचालय, घर, सर्जिकल स्ट्राइक, एयर स्ट्राइक हुई, वन रैंक वन पेन्शन लगायतका माग पुरा गर्ने काम भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-05-30 12:38:07

प्रतिकृया दिनुहोस्