न्यूरो सर्जरी गरिएका दोलखाका ७६ वर्षीय वृद्धकाे २ दिनमै कोरोनाबाट मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। पछिलो पटक दोलखा भीमेश्वर नगरपालिका २, तिखातलका ७६ वर्षीय वृद्ध कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्। 

हिँडडुल गर्न नसक्ने ती वृद्धलाई उच्च रक्तचाप देखिएपछि स्थानीय अस्पतालमा उपचारको लागि लगिएकोमा टाउकोमा रगत जमेको कारण जेठ ११ गते काठमाडौं रिफर गरिएको थियो। 

सुरुमा उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) ल्याइएको थियो। त्यहाँ उनको न्यूरो सर्जरी समेत गरिएको थियो। उपचारकै क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

सोही दिन केएमसी अस्पतालले महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा थप उपचारको लागि पठाएको थियो। त्यसको दुई दिन अर्थात जेठ १३ गते उनको निधन भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। 

संक्रमितको छोरा वैदेशिक रोजगारीमा छन् भने बुहारीले उनलाई उपचारको लागि काठमाडौं ल्याएकी थिइन्। बुहारीलाई टिचिङ अस्पतालले क्वारेन्टाइनमा राखिको स्रोतले बताएको छ। उनको स्वाब संकलन गरेर परीक्षण लागि टेकु पठाइएको छ। 

केएमसीका २ स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोना पुष्टि

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका दुई चिकित्सक ४ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यसअघि अस्पतालको आइसोलेसनमा एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो। मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो।

बुधबार थप एक चिकित्सकमा संक्रमण पुष्टि भएको मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले जानकारी दिइन्।

हाल बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गरिएको छ। 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी एक सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ।
 

प्रकाशित मिति: : 2020-06-03 17:17:46

प्रतिकृया दिनुहोस्