अनसन तोड्दै डा. केसीले भने- 'सीमाका नागरिकको पीडा राज्यले बुझेन' (भिडियो)

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बुधबार दुई दिने अनसन तोडेका छन्। मंगलबारदेखि दार्चुला गल्फैस्थित जगन्नाथ स्वामीको मन्दिरमा अनसन बसेका उनले आज अनसन तोडेका हुन्।

भारतद्वारा मिचिएको भूमि फिर्ता, सीमान्तकृत नागरिकका आधारभूत आवश्यकता पूर्तिका लागि सरकारको ध्यानाकर्षण लगायत तीन बुँदे माग राखेर अनसनमा बसेका उनलाई स्थानीय युवाले फलफूल र दूध पिलाएर अनसन तोडाएका हुन्।

केसी जेठ १ गते दार्चुला आएका थिए। राष्ट्रियता सिंहदरबारबाट बुझ्ने नसकिने भन्दै उनले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिता गर्न सरकारले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका थिए ।

'भारतले पश्चिम सीमामा भूमि मिचेर सडक बनाएको छ। हाम्रो सरकार रमिते भएर बसेको छ,' उनले भने, 'मिचिएको भूमि फिर्ता गर्न र सार्वभौमसत्ताको रक्षाका लागि तत्काल प्रक्रियामा जानुपर्छ। यसका लागि नागरिकहरुले दबाब दिनुपर्छ ।'

राज्यले कहिल्यै पनि सीमा क्षेत्रका नागरिकका पीडा नबुझेको भन्दै उनले सीमाका नागरिकलाई अधिकार र सुविधाबाट वञ्चित गराइएको आरोप लगाए ।

उनले चिकित्सा शिक्षा सुधारका लागि विगतमा सरकारले गरेको केही सम्झौता कार्यान्वयन नभएकाले वरिष्ठताको आधारमा डिन नियुक्त गर्न र परासर कोइराला प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: : 2020-06-03 22:30:54

प्रतिकृया दिनुहोस्