लकडाउनमा अड्किएका ११ हजार भारतीयलाई स्वदेश पठाइयो

वीरगञ्जको नेपाल भारत एकीकृत जाँच चौकीबाट करीब ११ हजार भारतीयलाई स्वदेश पठाइएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनको समयमा नेपालका विभिन्न स्थानमा अड्किएर भारत जान नपाएका भारतीयलाई पठाइएको हो । 

अहिलेसम्म नेपालका विभिन्न स्थानमा रोकिएका करीब ११ हजार भारतीयलाई स्वदेश पठाइ सकिएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत डा. कोट्रा स्वामी एमले जानकारी दिए । बुधवारमात्रै एकीकृत जाँच चौकी हुँदै करीब १०८ सय भारतीयलाई स्वदेश पठाइएको उनले बताए । 

नेपालमा विभिन्न व्यवसाय र रोजगारीमा रहेका भारतीयहरू लकडाउनमा भारत फर्किन चाहे पनि नेपाल–भारत सीमानाबाट आवागमन बन्द भएका कारण नेपालकै रोकिएर बसेका थिए । 

भारतमा लकडाउन खुकुलो भएसँगै नेपाल भारत द्विपक्षीय समन्वयमा एकअर्का देशमा रोकिएका नागरिकलाई आआफ्नो देशतर्फ फर्काइएको हो । अहिले पनि अनुमति नलिई नेपाल–भारत सीमानाबाट मानिसको आवागमन गर्न पाइँदैन ।

प्रकाशित मिति: : 2020-06-03 23:16:59

प्रतिकृया दिनुहोस्