सप्तरीका पहिलो संक्रमित युवक कोरोनालाई जितेर घर फर्किए

सप्तरीका पहिलो संक्रमित १८ वर्षीय युवक कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।

वैशाख २९ गते संक्रमण पुष्टि भएर गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा रहेका डाकनेश्वरी नगरपालिका-३ का युवक २५औं दिनमा डिस्चार्ज भएका हुन्।  

संक्रमित पुष्टि भएको १४औं दिन र २०औं दिन गरिएको परीक्षणमा दुबै रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।

मजदुरीका लागि चितवन गएका उनी लकडाउनका वेला वैशाख ८ गते मध्यराती घर आएका थिए। उनीसहित १३ जना मजदुर ट्रकबाट पथलैयासम्म आएका  थिए।

पथलैयाबाट पैदल हिड्दै आउँदै गरेका उनीहरूले जङ्गलमा पुन: अर्को ट्रकमा आएर पातोस्थित क्वारेन्टाइन पुगेका थिए। 

वैशाख २८ गते पीसीआर रिपोर्ट नआउँदै उनलाई नेगेटिभ आएको भनेर घर पठाइएको थियो। वैशाख २९ गते रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राख्न राजविराज ल्याइएको थियो।

प्रकाशित मिति: : 2020-06-04 14:19:31

प्रतिकृया दिनुहोस्