आज युएईबाट २१० र म्यानमारबाट २६ नेपाली स्वदेश फर्किदै

बिएल संवाददाता

काठमाडाै‌ं
तस्बिरः देवेन्द्र नौलाखाको फेसबुकबाट

सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ। यसै क्रममा आज युएईमा रहेका दुई सय १० श्रमिक र म्यानमारमा अलपत्र परेका २६ नेपाली आउँदै छन् ।

म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ। आज बिहान ७ बजे २६ जना नेपालीलाई लिएर विमान उडेको हो। यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ।

नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउन लागेको हो। 

दुवै देशबाट सरकारले उनीहरूलाई आफ्नै खर्चमा स्वदेश फर्काउन लागेकाे हाे।  युएईमा रहेका करिब १८ हजार नेपाली श्रमिकले स्वदेश फर्किन दूतावासमा आवेदन दिएका छन् ।   नेपाली श्रमिकलाई घर फर्काउन युएईमा केही दिनभित्रै थप आठ उडान गर्ने तयारी गरिएकाे छ। 

भाडादर दोब्बर 

निगम र हिमालय एयरलाइन्सले गरेको प्रस्तावमा भाडादर भने नियमितभन्दा दोब्बर छ । निगमसँग दुई सय ७४ सिट क्षमताका दुई वाइडबडी र एक सय ५६ सिट क्षमताका दुई न्यारोबडी जहाज छन् ।  

त्यस्तै, हिमालय एयरलाइन्ससँग पनि एक सय ५६ सिट क्षमताका तीन एयरबस ३२० जहाज छन् । 

वाइडबडीको प्रतिघन्टा १८ हजार एक सय र न्यारोबडीको प्रतिघन्टा आठ हजार चार सय ७० अमेरिकी डलरका दरले भाडा प्रस्ताव गरिएको छ । आठ उडान गरेर दैनिक एक हजार सात सय २० जनालाई ल्याउन सकिने निगमको प्रस्ताव छ ।

यता हिमालयले  प्रतिघन्टा आठ हजार डलर भाडा प्रस्ताव गरेको छ । ६ उडानमार्फत दैनिक नौ सय ३६ नेपालीको उद्धार गर्न सकिने उसको प्रस्ताव छ । 

सामान्य उडानमा काठमाडौं–मलेसिया ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म भाडा लाग्छ । 

तर, निगमले वाइडबडी जहाजका लागि प्रतिघन्टा १८ हजार एक सय डलर भाडा प्रस्ताव गरेको छ । 

मलेसियाको उडान उडान समय नौ घन्टाको हुन्छ । यस हिसाबले प्रतिउडान एक लाख ६२ हजार नौ सय डलर पर्छ । 

जहाजमा दुई सय ७४ यात्रु आउने हिसाब गर्दा प्रतियात्रु पाँच सय ९५ डलर अर्थात् नेपाली रुपैयाँ ७१ हजार तीन सय ४४ पर्न आउँछ । 

प्रकाशित मिति: : 2020-06-05 09:40:26

प्रतिकृया दिनुहोस्