डब्लुएचओकाे सुझाव परिमार्जन, सार्वजनिक स्थानमा सबैलाई ‘कपडा’काे मास्क लगाउन आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सबैसँग आग्रह गरेको छ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिनबाट रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन डब्लुएचओले मास्कका सम्बन्धमा आफ्नो सुझाव परिवर्तन गर्दै  सबैसँग उक्त अपिल गरेको हो।

डब्लुएचओका अनुसार संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस रहेका ओसिला छिटाहरुबाट मास्कले जोगाउन सक्ने देखिएको छ। 

यसअघि डब्लुएचओले स्वस्थ मानिसले मास्क लगाउनु पर्ने भनेको थिएन। तर विश्वका केही देशहरुले सार्वजनिक स्थानमा जाँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम नै लागु गरेका छन्। डब्लुएचओले यसअघि स्वस्थ मानिसले मास्क लगाएमा संक्रमणबाट जोगिन्छ भन्ने पर्याप्त प्रमाण प्राप्त नभएको दाबी गर्दै आएको थियो।

परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमित व्यक्तिको सम्पर्कमा आउन सकिने भएकाले संक्रमणबाट जोगिने उपायका रुपमा मास्क लगाउनु पर्ने उल्लेख छ।

डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा मारिया भान केर्खोभले सर्वसाधारणलाई मेडिकल मास्क नभइ कपडाको मास्क लगाउन आग्रह गरेकी छिन्। यसअघि डब्लुएचओले नै जोखिममा रहेका र संक्रमितको स्याहार गरिरहेका व्यक्तिले मेडिकल मास्क लगाउनु पर्ने बताएको थियो।

तर समाचार संस्था रोयटर्ससँग कुराकानी गर्दै डा केर्खोभले मेडिकल मास्क नभइ कपडाको मास्क लगाउन आग्रह गरेकी छिन्। 

उनले संक्रमणको शंका लागेका, संक्रमण भएकाहरुको नजिक जाने, उनीहरुको स्याहार गर्ने, संक्रमण भएकाहरुले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने बताएकी छिन्।

यसो गर्दा कोरोना भाइरसको संक्रमण फैलिन नपाउने उनको भनाइ छ। 

जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार  विश्वभर कोरोना भाइरसबाट ६७ लाख २४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसमध्ये तीन लाख ९४ हजार भन्दा बढीको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-06-06 07:19:14

प्रतिकृया दिनुहोस्