बुटवल कोरोना अस्पतालबाट पीसीआर परीक्षणविनै २७ संक्रमित डिस्चार्ज

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ कोरोना संक्रमितलाई पीसीआर परीक्षणविनै घर पठाइएको छ। डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन्।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरूलाई डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा विष्णु गौतमले बताए। 

उनका अनुसार संक्रमित भए पनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएसँगै डिस्चार्ज गरिएको हो।

‘मन्त्रालयको नयाँ निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरेका हौं,’ उनले भने, ‘जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप पीसीआर परीक्षण नगरी घर पठाइएको हो।’

उनका अनुसार जेठ २० गते अगाडि १४ दिन आइसोलेसनमा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएको थियो। तर अहिले मन्त्रालयले निर्देशिका नै जारी गरेको कारण उनीहरुलाई त्यसैको आधारमा डिस्चार्ज गरिएको हो।  

घर पठाइएकालाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने डा गौतमले बताए। ‘सबैलाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने छन्। पीसीआर परीक्षण गरेन भनेर अन्यथामा लिन मिल्दैन,’उनले भने।

उनले घर पठाइएका २७ जनालाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको बताए।

३६ बेडको आइसोलेसन अस्पतालमा अब ४ जना जनरल कक्षमा र ३ जना आईसीयूमा रहेका प्रवक्ता गौतमले बताए। यसअघि उक्त अस्पतालबाट दुईपटक गरी १८ जना डिस्चार्ज भइसकेका छन्। यसअघि वैशाख ३० गते रुपन्देहीका १ , जेठ १० गते कपिलवस्तुका १० र जेठ १८ गते कपिलवस्तुका ३ र रुपन्देहीका १ गरी १५ जना घर फर्केका थिए भने बुधबार ३ जना कपिलवस्तुका र १ जना अर्घाखाँची घर भई कोरोना विशेष अस्पताल बुटवलमा कार्यरत स्वास्थ्यकर्मी डिस्चार्ज भएका थिए।

प्रकाशित मिति: : 2020-06-06 13:11:59

प्रतिकृया दिनुहोस्