डोल्पामा पहिलाे संक्रमितकाे मृत्युपछि काेराेना पुष्टि, नेपालमा मृतककाे संख्या १२ पुग्याे

डोल्पामा कोरोना भाइरस संक्रमणकाे  जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनी हाेम क्वारेन्टाइनमा रहेकाे अवस्थामा मृत्यु भएकाे हाे।

जेठ २० गते मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले जनाएको छ। 

लामाे समयदेखि दम राेगका पीडित उनकाे सुरक्षाको उपाय अपनाई दाहसंस्कार गरिसकिएको जागदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बिएल नेपाली सेवालाई जानकारी दिए।

हाल उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएकाले गाँउपालिकाका सबै नाका र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए।

‘प्रदेश सरकारसँग समन्वय गरेका छाैं। परिक्षणका लागि अपिल गरेका छौँ,’ उनले भने, ‘यदि समयमा परीक्षण नगरिए गाँउपालिकामा ठूलो हुने अवस्था छ।’ 

जिल्लाबाट स्वास्थ्यकर्मीको टोली जाने र मृतकको सम्पर्कमा आएका सबैको विवरण आएपछि प्रतिष्ठानबाट पनि स्वास्थ्यकर्मी आउने भएकाले नआत्तिन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आग्रह गरे।

मृतकसँगै जगदुल्लामा आएका १२ जना क्वारेन्टाइनमा छन्। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ। जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-06-06 13:17:30

प्रतिकृया दिनुहोस्