राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्नका लागि जाे बाइडेनले पाए न्यूनतम समर्थन

बिएल संवाददाता

वासिङटन, डिसि

अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्नका लागि आवश्यक पर्ने डेलिगेट्स प्राप्त गरेका छन्।

यो हप्ताको सुरुमा सात राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियामा भएको प्राइमरीको नतिजा शुक्रबार राति अबेर आएपछि बाइडेनले डेलिगेट्सको न्यूनतम आँकडा पूरा गरेका हुन्। डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नका लागि कम्तिमा १९ सय ९१ डेलिगेट्स प्राप्त गर्नु पर्छ।

२० भन्दा बढी आकांक्षी रहेका बेला बाइडेन सुरुमा कमजोर देखिएका थिए। तर प्रतिस्पर्धा अघि बढ्दै जाँदा उनी सबैलाई पछि पारेर अघि आए। अन्तिमसम्म बर्नी सान्डर्स र उनीबिच प्रतिस्पर्धा थियो। तर गएको अप्रिलमा सान्डर्सले चुनावी अभियान अन्त्य गरी बाइडेनलाई समर्थन गरेका थिए।

बाइडेनलाई उम्मेदवारीको होडमा रहेका सबैले समर्थन गरेका थिए। १९ सय ९१ डेलिगेट्सको समर्थन प्राप्त गरेका बाइडेन अब डेमोक्र्याटिक पार्टीका तर्फबाट आउँदो चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने औपचारिक उम्मेदवार बनेका छन्।

बाइडेनले न्यूनतम डेलिगेट्स प्राप्त गरेपछि आफ्नो समर्थनमा आएका सबै पूर्व प्रतिस्पर्धी आकांक्षीलाई धन्यबाद दिएका छन्।

‘सबैभन्दा प्रतिभाशाली आकांक्षीहरुसँगै प्रतिस्पर्धामा उत्रिन पाउँदा मलाई गर्व लागेको छ। पार्टीको इतिहासमा यो पटक राष्ट्रपति उम्मेदवार बन्न चाहने नेताहरु अति प्रभावशाली थिए। र गर्व लागेको छ कि हामी यो आम चुनावमा एकीकृत पार्टीका रुपमा जाँदै छौँ ,’उनले भने।

प्रकाशित मिति: : 2020-06-06 13:33:10

प्रतिकृया दिनुहोस्