भत्कियो हडिया पुलको पूर्वदक्षिणी भाग

झापाको मेचीनगर–१० गोलबारीस्थित पूर्वपश्चिम राजमार्गको हडिया पुलको पूर्वदक्षिणी भाग भत्किएको छ।

पुलको एक छेउमा दुई मिटर धाजा फाटेर रेलिङ कोल्टे परेको छ। धाजा फाटेको भाग बढ्दै गएको हुँदा बेलैमा मर्मतसम्भार नगरिए राजमार्गको आवागमनमा अवरोध पुग्नसक्ने जोखिम छ।

सो पुल ५७ दशमलब ५० मिटर लामो छ। भत्किएको स्थान जनाउने कुनै सङ्केत पनि राखिएको छैन। पाँच वर्षअघि सोही वडाको लालपानीस्थित पूर्वपश्चिम राजमार्गकै ढुकुरे पुल र विर्तामोडस्थित नयाँ बसपार्कको कल्भर्ट यसरी नै भत्किँदा लामो समय राजमार्ग अवरुद्ध भएको थियो।

पूर्वपश्चिम राजमार्गसँगै ५० वर्षअघि निर्माण भएका पुल र कल्भर्टहरु धेरै स्थानमा जीर्ण भइसकेका छन्। दमकको लखनपुरमा समेत केही वर्षअघि कल्भर्ट भत्किँदा राजमार्ग लामो समयसम्म अवरुद्ध भएको थियो। 

 हडिया पुल भत्किन थालेको हुँदा यही असार मसान्तभित्र मर्मतसम्भार गरिसक्ने सडक डिभिजन कार्यालय दमकका इञ्जीनियर चण्डेश्वर साहले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-06-06 13:35:22

प्रतिकृया दिनुहोस्