सरकारले जारी राखेको लकडाउन असफल: राहुल गान्धी

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन् । उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाए। 

उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको बताएका हुन्। उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन ९ देखि १० हजार सम्म संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न असफल भएको बताए। 

उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा पनि राखे। उनले लकडाउनले पनि यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन् । 

भारतमा शुक्रबारमात्र ९ हजार ८५१ जना संक्रमित थपिएका थिए । यहाँ गएको २४ घन्टायता २७३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ । यहाँ यस भाइरसका २ लाख २६ हजार ७७० जना संक्रमति भएका छन् । यीमध्ये १ लाख १० हजार ९६० जना पोजेटिभ छन् । अरु निको भएर घर फर्र्किएका छन् ।

प्रकाशित मिति: : 2020-06-06 14:21:08

प्रतिकृया दिनुहोस्