रंगभेद र प्रहरी बरबर्ताविरुद्धको आन्दोलन : अमेरिकाको राजधानीमा दशौँ हजारको प्रदर्शन

बिएल संवाददाता

वासिङ्गटन डिसी

निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा सुरु भएको प्रदर्शनले संस्थागत रुपमा रहेको रंगभेद र प्रहरी बरबर्ता विरोधी आन्दोलनको रुपमा लिएको छ। 

अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा रंगभेद र प्रहरी बरबर्ताको विरोधमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन्।

वासिङ्गटको लिंकन मेमोरियल र लाफयेत्ती पार्कमा मानिसहरु भेला भएका हुन्। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नजिकै रहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउस तर्फ जान दिएनन्। प्रदर्शनकारीले त्यहिँ नारा लगाएका हुन्।

गएको मे २५ मा मिनेशोटाको मिनियापोलसका स्थानीय प्रहरी अधिकारीले फ्लोइडलाई पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लगातार झण्डै नौ मिनेट थिचेका थिए। 

फ्लोइडले ‘मैले सास फेर्न सकिरहेको छैन’ भन्दा पनि प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन्। त्यसको केही समयपछि फ्लोइडको मृत्यु भयो।

सो घटनापछि अमेरिकासहित विश्वभर रंगभेदविरुद्ध प्रदर्शन भइरहेको छ। अमेरिकामा प्रदर्शनको क्रममा केही स्थानमा लुटपाट, तोडफोड तथा आगजनी समेत भएको छ।  

यसैबिच फ्लोइडको जन्मभएको नर्थ क्यारोलाइनामा मानिसहरु भेला भएर स्मृतिसभा गरेका छन्। त्यहाँ पनि सयाैंकाे संख्यामा मानिसहरु उपस्थित भएर सरकारविरुद्ध नारा लगाएका थिए। 

अरु देशमा पनि प्रदर्शन जारी

अमेरिकामा रंगभेदविरुद्ध लगातार १२ दिनदेखि प्रदर्शन भइरहेको छ। यता बेलायतमा पनि हजारौँ मानिस सहभागी भएर प्रदर्शन गरेका छन्। मध्य लण्डनको पार्लियामेन्ट स्क्वायरमा मानिसहरु भेला भएर ‘ब्ल्याक लाइफ म्याटर्स’ अभियानमा ऐक्यवद्धता जनाएका हुन्।

यता बेलायत सरकारले भने कोरोना भाइरसको महामारी फैलिन सक्ने भय भएकाले ठूलो संख्यामा भेला नहुन आग्रह गरेको छ। तरपनि मानिसहरु त्यसलाई तोडेर प्रदर्शनमा उत्रिएका छन्।

यसैगरी अस्ट्रेलियामा पनि प्रदर्शन भएको छ। प्रमुख शह‍र सिड्नी, मेलबर्न र ब्रिसबेनसहित केही स्थानमा प्रदर्शन भएको हो।

अमेरिकामा ५५ अर्ब डलर बराबरको क्षति

फ्लोइडको समर्थनमा चर्केको आन्दोलनका क्रममा ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको मिनियापोलिसका सरकारी अधिकाहरूले बताएका छन्।

अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभर प्रदर्शन गर्दै आइरहेका छन्।

 मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो। 

तोडफोडका कारण २२० घरमा क्षति भएको छ भने अन्य भौतिक संरचना र धनमाल नष्ट गरिएका छन्।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपूर्तिको लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2020-06-07 07:26:30

प्रतिकृया दिनुहोस्