भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकै दिन बैतडीमा एकजनाको मृत्यु

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए ।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासी बेलुका साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राति साढे ८ बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए ।

मृतकको स्वाब सङ्कलन गरिएको र कोरोना भाइरसको परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेका थिए । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया ती महिलाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रकाशित मिति: : 2020-06-07 08:17:07

प्रतिकृया दिनुहोस्