रुकुममा हेलिप्याड निर्माणको काम प्रभावित

बिएल संवाददाता

रुकुमपूर्व

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड –१९ को जोखिम रोक्नका निम्ति नेपाल सरकारले गरेको बन्दाबन्दीले रुकुम(पूर्व)मा हेलिप्याड निर्माणको काम प्रभावित बनेको छ। 

सडक सुविधा नपुगेको पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडामा नागरिकलाई सेवा दिनका लागि सडकको विकल्पमा हेलिप्याड निर्माण गर्न लागिएको थियो।
 
यही जेठमा हेलिप्याड निर्माणको काम शुरु गर्ने भनिए पनि बन्दाबन्दीले गर्दा गाउँपालिकामा हेलिप्याड निर्माणको काम अगाडि नबढ्ने प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिए। 

 गाउँघरमा विभिन्न खालका समस्या देखिरहने र त्यस ठाउँमा तत्काल सडक पुग्ने सम्भावना नदेखिएपछि विकल्पका रुपमा हेलिप्याड निर्माणको योजना बनाइएको थियो।

'चालु आर्थिक वर्षमै हेलिप्याड निर्माणको काम सक्ने भनिएको भए पनि बन्दाबन्दीले आवश्यक सामग्री अभाव र हेलिप्याड निर्माण गर्ने सम्बन्धित निकायसँग तालमेल नमिलेका कारण चालु आवमा हेलिप्याड निर्माणको काम नहुने निश्चित भएको थियो' उनले भने। 

अहिलेसम्म सडकले नछोएको १ देखि ९ नम्बर सबै वडामा एक एक हेलिप्याड निर्माण गर्ने लक्ष गाउँपालिकाले लिएको उनले बताए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको हेलिप्याड निर्माणसम्बन्धी मापदण्डका आधारमै रहेर निर्माण गरिने जनाई चालु आवमा रु १० लाखसमेत विनियोजन गरिएको छ। चौध वटा वडा रहेको पुथाउत्तरगंगाका ९ वटा वडामा  हेलिप्याडको आवश्यकता रहेको गाउँपालिकाले जनाएको छ।

वडाका सबै नागरिकलाई सहज हुने ठाउँमा हेलिप्याड निर्माण गर्न उपयुक्त ठाउँ छनोटका लागि गाउँपालिकाले सम्बन्धित वडाध्यक्षलाई नै जिम्मेवारी दिएको थियो।
 
यस्तै वडा नं ५  रिसल्लामा भने आव २०७५/७६ नै हेलिप्याड निर्माण गरिएको छ। हाल उक्त हेलिप्याडबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टरमार्फत बिरामी तथा घाइतेको उद्धार हुने गरेको छ। दशदेखि १४ नम्बर वडामा सडक पुगे पनि बाह्रैमास गाडी भने गुड्ने गरेका छैनन्। 

प्रकाशित मिति: : 2020-06-07 08:50:22

प्रतिकृया दिनुहोस्