कोरोना भाइरसले वर्तमान समयमा महाबली मनुष्यको सम्पूर्ण कश, बल र अभिमानलाई क्षत विक्षत र छताछुल्ल पारिदिएको अवस्था छ। वैज्ञानिकको हातमा यसलाई साम्य पार्ने कुनै औषधि वा भविष्यमा यस भाइरसले आक्रान्त पार्न नसक्ने कुनै पनि किसिको टिकाको अविष्कार हात लागेको छैन।

विश्वभरिमै कोरोनाको आतंकले मानव समुदाय आतंकित र भयाक्रांन्त छ। अविकसित, अर्धविकसित, विकासशील तथा अति विकशित देशहरू यसको भयंकर प्रकोपबाट ग्रस्त छन्।

आफैंमा सक्षम ती राष्ट्रहरू अविकसित राष्ट्रहरूझै निरावलम्ब स्थितिमा आइपुगेका छन्। यस रोगको कुनै उपचार, टीका वा अन्य कुनै चिकित्सिकीय निदान फेला परेको छैन। यस्तो अवस्थामा अमेरिका जस्तो महाशक्ति सम्पन्न देशमा पनि कुनै विकल्प न भएको अवस्थामा एसिया, अफ्रिका जस्तो महादेशका अर्धविकसित मुलुकका साधारण मानिसको जीवनको प्रश्रय को हुने?

नदीको भेल वा पोखरीको छालमा डुब्न लागेको बेला आर्त प्राणीले के खोज्छ–तृणको अवलम्बन! कुनै भरपर्दो वा भर नपर्दो सहारा! हो यसै अवलम्बन तथा सहारालाई जन साधारण जनमानसले खोज्ने प्रयासको क्रममा रहेको अवस्था आइपरेको छ।

अचेलको मानव महाबली हो, महामानव हो तर विश्वभरिका जम्मै ‘मै हुँ’ भन्ने महामानव अहिले कोरोनाकोसामू सोत्तर भएर त्राहीमाम् भइसकेको दृश्य विद्यमान छ। मान्छेसित विभिन्न खाले शक्ति छ–द्रव्यशक्ति (जे पनि किन्न सक्छ), जनशक्ति (कसैमाथि पनि विजय प्राप्त गर्न सक्छ), अर्थशक्ति (कसैलाई पनि धनवान वा ऋणवान बनाउन सक्छ), इच्छाशक्ति (जो कोहीलाई पनि बशीकरण गरेर आफ्नो बशमा पार्न सकिन्छ)। यो सबै भौतिक शक्ति मनुष्यको अर्जित शक्ति हो। यी शक्तिहरू मूल्यवान पनि छन् तर आफूभन्दा कुनै प्रबल शत्रु आइलागे पछि..?

महाभारतमा यस सम्बन्धमा एउटा रोचक दृष्टान्त उल्लेखित छ। द्यूत भवनमा पाण्डवले आफ्नो जम्मै ऐश्वर्य हारिसके पछि पाँच पाण्डवकी प्रिय पत्नीलाई जुवामा जितेर दुःशासनले उनको लुगा खोल्न थालेको थियो। द्रौपदी यस्तो अवस्थामा सर्वप्रथम आफ्नो सतीत्वको बल पर्खिबसेकी थिइन्, अनि आफ्ना पाँच वीर पतिहरूको शौर्यलाई पर्खिबसेकी थिइन्, त्यतिबेलाको महान नीतिज्ञ प्रधानमन्त्री विदुरजीको न्यायलाई पर्खिबसेकी थिइन्,  न्यायको लागि महान तेजस्वी गङ्गापुत्रको मुख ताकेर बसेकी थिइन्। तर कसैको तेज, शौर्य, नीति र न्यायले कुनै पनि किसिमको हल झिक्न सकेन। अन्ततः लुगा खोलिने र सर्वाङ्ग नाङ्गो हुने पूर्ण सम्भावनाको भेउ पाएपछि विवस र लाचार भइ वल्ल द्रौपदीले दैवी शक्तिको सम्झना र गुहार गरेकी थिइन्। न भन्दै दुःशासनले उनको लुगा खोल्ने क्रममा लुगा तान्दा तान्दै थाकेर लखतरान भएपछि त्यो प्रयत्न असफल भएको थियो। श्रीकृष्ण त्यतिबेला द्रौपदीको लागि दैवीशक्तिका प्रतीक भएका थिए। द्रौपदीको इज्जत र लाजको रक्षा भएको थियो।

यो प्रसङ्ग द्वापर युगको हो, त्यति बेला श्रीकृष्ण साक्षात रूपमा त्यहाँ उपस्थित थिए। एक चोटि एकान्तमा द्रौपदी श्रीकृष्णसित सोधेकी थिइन्–केशव, म तपाईँलाई गुहार्दै थिएँ, तर तपाईँ त्यहाँ आइपुग्न निकै बेर पो लगाउनु भयो, तपाईँ ठीक समयमा आइ नपुगेको भए म त लज्जित भएर गलीत हुन पुग्थे । अनि श्रीकृष्णले जवाफमा भन्नु भएको थियो–कृष्णे! त्यति बेला तिमीमाथि सङ्कट आइपरेको बेला तिमीले आफ्ना महान पराक्रमी पतिको बलको, नीतिनीपूण महापुरूषहरुको तथा स्वयं आफ्नो पनि सतीत्व बलका आश्रय लियौ।

म त्यही सभामा उपस्थित थिएँ, तर तिमीले मलाइ मेरो नामले गुहारेको भए म तत्कालै तिम्रो रक्षा गर्ने थिएँ, तर त्यति बेला तिमीले मलाई मेरो नामको सम्बोधन न गरेर मलाइ–मेरो रक्षा गर हे द्वारकाधीश! भनेर गुहारेकी थियौं। अब मलाई द्वारकाधीश भनेपछि तिम्रो पुकारा सुनेर म द्वारकासम्म जानु पर्‍यो र फेरि तिम्रो रक्षा गर्न यस राजभवनसम्म आउनु पर्‍यो।

यसमा विलम्ब त लाग्नु नै थियो। म त्यही थिएँ, तिमीले मेरो शक्ति र सामथ्र्यमाथि विश्वास गरेनौं। साधारणतया तिमीले ममाथि विश्वास गरेर त्यही मेरो नामको उच्चारण गरेर गुहारेको भए तिम्रो समस्या तत्कालै समाधान हुनेथियो।

अहिलेको कोरोना कालमा द्वापर युगको यो प्रसङ्ग समयानुकूल भएर आएको छ। कोरोना कालमा मानवसित भएको जम्मै शक्ति (द्रव्यशक्ति, अर्थशक्ति, जनशक्ति, इच्छाशक्ति) हरू बेअसर भइसकेपछि राजनीतिज्ञ, स्वास्थ्यकर्मी, प्रशासक, विद्वान आदि प्रबुद्ध व्यक्तिको सिद्धान्त जे भए पनि गरीब, अशिक्षित तथा निमुखा जनसाधारणले दैवीशक्तिको अवलम्बन खोजेको अवस्था आइ परेको छ । अहिलेको कलिकालमा श्रीकृष्ण वा अन्य कुनै पनि देउताको स्पष्ट उपस्थिति भने देखिदैन, अतः जनसाधारणले कुन देउताको शरण पर्ने हो? आदि मानवदेखि अहिलेसम्मको मानवीय इतिहासमा यसै बेला एउटा रहस्यमयी, प्रभावशाली तथा त्राणकत्र्ता देउताको जन्म हुन्छ र जनसाधारण उनकै शरण परेर आफ्नो रक्षाको लागि हार–गुहार गर्छ् । ‘कोरोनामाई’ नयाँ देवीको रूपमा प्रतिष्ठित हुँदै छिन्। धर्म भनेको आस्था हो तथा आस्थाले चमत्कार देखाउँछ। वस्तुतः आफ्नो सम्पूर्ण शक्ति वा भनूँ काबू बाहिरको संकट आइपरेको बेला मानव विकास क्रममा पुरापाषाणकालदेखि नै यसै प्रकारले देवी–देउताको जन्म तथा प्रतिष्ठा हुँदै आएको हो, शास्त्र पुराणहरुमा वर्णित अग्निको लागि अग्नि देव, पानीको लागि वरूण देव आदि देउताहरुको जन्म तथा प्राण प्रतिष्ठा यसै प्रकारले भएको हो कि! यो कोरोना माइको जन्म तथा प्राण प्रतिष्ठा र पूजा–आज हाँसोको विषय पक्कै होइन, बरन हामी महामानवको क्षुद्रताको परिचायक पो हो कि...!

प्रकाशित मिति: : 2020-06-10 07:31:00

प्रतिकृया दिनुहोस्