दिल्लीमा रेल सेवा बन्द गरेर रेलहरुमै आइसोलेसन वार्ड बनाइदैं

एजेन्सी

नयाँ दिल्ली

भारतको दिल्ली सरकारले रेलमा कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्ड बनाउने भएको छ ।

सरकारले आनन्द विहार स्टेशनमा रेलहरुका डिब्बालाई आइसोलेसन वार्ड बनाउन लागेको हो। सोमबारदेखि यस स्टेनसमा रेलहरू बन्द गरिएको छ ।

मुख्यमन्त्री अरबिन्द केजरिवालले सोमबारबाट उक्त क्षेत्रका रेलहरुलाई आइसोलेसन वार्डका रुपमा प्रयोग गरिने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको हो।

यसअघि पनि गत महिना नै भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बताएको थियो ।

यसैबीच भारतको केन्द्र सरकारले करिब ५०० रेलगाडीलाई आइसोलेशन वार्डको रूपमा प्रयोग गर्न दिल्ली सरकारलाई दिने निर्णय गरेको छ।

यसबाट दिल्लीका करिब ८ हजार विरामीलाई त्यहाँ राखेर उपचार गर्न सकिन्छ। ती रेलका डिब्बाहरुमा आइसोलेसनका शैयाहरु बनाइएको छ र त्यहीँ अस्पतालको बेडमा जस्तै उपचारको सुविधा पनि रहने छ ।

यो निर्णयसँगै त्यहाँ तीन लाख भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ।

एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा विगत लामो समयदेखि जारी लकडाउन हाल केही खुकुलो भएको छ। भाइरसको फैलावट रोक्न भन्दै सरकारले भारत बन्द गर्ने निर्णय गरेको थियो।

अहिलेसम्म भारतमा यो भाइरसका संक्रमितहरुको संख्या तीन लाख ३३ हजार नाघिसकेको छ । महामारीबाट ९ हजार जनाभन्दा बढीको मृत्यु भएको छ। दिल्लीमा मात्रै ४१ हजारभन्दा बढी संक्रमित छन्।

प्रकाशित मिति: : 2020-06-15 12:25:08

प्रतिकृया दिनुहोस्