साविक विजेता वायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ। लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो।
मंगलबार वेर्डर ब्रेमेनको मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको बायर्नले १–० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो।
वेर्डरविरुद्ध फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो।
खेलको ४३ औं मिनेटमा लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए। उनले जेरोम बोटेङको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र चेस्टले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरेका थिए।
खेलको ७९ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो। अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड पाए।
यस जितसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो। दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलमा ६६ अंक रहेको छ।
डर्टमुन्डको ३ खेल बाँकी रहँदा बायर्न १० अंकले अगाडी रहेपछि उपाधि पक्का भएको हो।
पराजित ब्रेमेन भने अझैपनि रेलिगेसन क्षेत्रमै सिमित छ। टोलीले ३२ खेलमा २८ अंक मात्र जोडेको छ।