दैलेखमा कोरोना निको हुने र थपिने क्रम जारी

रासस

दुल्लू

कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको दैलेखमा कोरोना निको भएर घर जाने र सङ्क्रमित भइ  भर्ना हुने अहिले दैनिकी जस्तै हुन थालेको छ। पछिल्लो सयम यहाँ सङ्क्रमित सङ्ख्या बढी देखिएको छ।
 
गत मङ्गलबार मात्रै १८४ ले कोरोना जितेर खुशी हुँदै आफ्ना घर फर्किएका छन् भने ९४ जना कोरोना पुष्टि भई उपचारका लागि भर्ना भएका थिए।
 
'निको भएर घर जाने र सङ्क्रमित भएर उपचारका लागि भर्ना हुनेको सङ्ख्या उस्तै दरमा देखिएको छ' जिल्ला अस्पतालका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भने, 'जिल्लामा ६३३ कोरोना पुष्टि भएका उपचारका लागि भर्ना छन्, दैनिक  थपिने र  निको भएर जाने क्रम जारी छ।' गत सोमबारमात्रै ९१ मा कोरोना पुष्टि भएको थियो। 

सङ्क्रमित थपिए पनि निको हुने दर उत्तिकै देख्दा निकै खुशी तुल्याएको र विषेशगरी आयुर्वेदिक उपचार विधिद्वारा उपचार गर्दा बिरामीको  स्वास्थ्यमा  सुधार आएको उनले जानकारी दिए।   

जिल्ला अस्पतालका अनुसार जिल्लामा गत मङ्गलबारसम्म १८४ जनाले कोरोना जितेर घरमा फर्किसकेका छन्। सबैभन्दा धेरै घर फर्किनेहरुमा नारायण नगरपालिकाका १४५ र दुल्लु नगरपालिकाका ३४ रहेका छन्।
 
त्यस्तै डुङ्गेश्वर गाउँपालिकाका तीन र गुराँस गाउँपालिकाका दुई जनाले कोरोना जितेर घर फर्किँदा जिल्लामा कोरोना जितेर घरमा फर्किनेको सङ्ख्या १८४ पुगेको छ। जिल्लाभरि ६३३ कोरोना सङ्क्रमितमध्य १८४ कोरोना जितेर घरमा फर्किसकेका छन् भने बाँकी ४४९ को उपचार भइरहेको जनाइएको छ।
 
सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएकाले निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। एघार स्थानीय तह रहेको जिल्ला हालसम्म ६३३ कोरोना पुष्टि भएका छन् भने सयौँको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत र जुम्लामा पठाइएको 
छ।

प्रकाशित मिति: : 2020-06-18 13:57:07

प्रतिकृया दिनुहोस्